काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको हो ।
ओमानले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले । लगातार दोस्रो अर्धशतक बनाउने क्रममा मल्लले ४६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। उनले यस अघि अमेरिकाविरुद्धको खेलमा अर्धशतक बनाएका थिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो ।ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए । यस्तै जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए ।यस जितसँगै नेपालले सिरिजको सुखद अन्त्य गरेको छ । सिरिजमा नेपालले खेलेको ४ खेलमा २ जित र २ हार व्यहोर्यो ।
सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो ।दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो । यस जितपछि नेपालले ओमानविरुद्ध अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ ।