डा प्रेरणा सेढाइ(भट्टराई)
वरिष्ठ पशु चिकित्सक
पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय
कार्यक्रम संयोजक
विश्व भेटरिनरी दिवस—२०२१
नेपालमा अलि ढिला भएपनि भेटरिनरी क्षेत्रमा विश्वव्यापी रुपमा धेरै अघि बाट पहल हुँदै आएको थियो । सन् १९९३ मा पशु स्वास्थ्य र कल्याणका लागि भनेर विश्व भेटेरिनरी एशोसिएशन स्थापना भयो । पछिल्लो समय यसले जनस्वास्थ्य र वातावरणलार्ई पनि सँगै जोडेर ल्याएको छ । यसलाई समग्रमा एक स्वास्थ्य भन्ने पनि गरिएको छ ।
यही एशोसिएसनले सन् २००१ मा अप्रिल महिनाको अन्तिम शनिबारलाई विश्व भेटेरिनरी दिवसका रुपमा मनाउन शुरु गरेको हो । भेटेरीनरी पेशा र काममा सुधार ल्याउने र पशु स्वास्थ्यमा सुधार ल्याउनु यसको प्रमुख उद्धेश्य रहिआएको छ । कालान्तरमा मानव स्वास्थ्य, वातावरण, खाद्य सुरक्षा लगायतका विषय समेत यसले ध्यान दिँदै गएको छ । नेपालमा पनि सन् २००८ पछि यस दिवस मनाउन लागिएको हो । वर्षेनी विभिन्न –थिम)नारामा केन्द्रीत रहेर यस दिवस मनाइन्छ ।
गण्डकी प्रदेशमा वैशाख ११ गते यस दिवस मनाउनका लागि विभिन्न सरोकारवालाहरुको बैठक बसेर कार्ययोजना बनाएका छौँ । गत वर्र्ष कोभिड १९ को संक्रमण बढेकाले मनाउन नसकेपनि यस वर्ष निरन्तरता दिएका छौँ ।
विद्यालय तहका बालबालिकाहरुमा समेत भेटेरिनरी र यसको महत्वका बारेमा सचेतना जगाउनुपर्दछ भनेर निवन्ध प्रतियोगिता आयोजना गरेका छौँ । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई नगद पुरस्कारले पुरस्कृत गर्नेछौँ । त्यसैगरी सबै सरोकारवालाहरुलाई भेला गरेर कोभिड १९ ले पशुपालन क्षेत्रमा पारेको प्रभाव र असरका बारेमा अन्तरक्रिया गर्दछौँ । हामीले गर्ने कार्यक्रममा सरकारले तोकेका सबै स्वास्थ्य मापदण्डको पालना गर्नेछौँ ।
कोभिड १९ ले भेटेरिनरी क्षेत्रमा धेरैनै असर पारेको छ । शुरुआतमा यसले मानिसमा ठूलो डर सिर्जना गरेको थियो । पहिलो प्राथमिकतामा मानव स्वास्थ्य परेकाले भेटेरिनरी प्राथमिकतामा परेन ।
पशु स्वास्थ्यलाई अत्यावश्यक सेवाभित्र राखिएको थिएन जसले गर्दा पशुपालनका लागि अत्यावश्यक दाना, औषधी, चल्ला, अण्डा तथा दूधको विक्री वितरण र ओसारपसारमा समस्या भयो । भेटेरिनरीलाई अत्यावश्यक सेवाभित्र राखिनुपर्दछ भनेर हामीले सरकारसँग माग गरौँ । अत्यावश्यक सेवामा राख्नका लागि सर्वोच्चमा रिट पनि हालेका थियौँ । पछि हामीले जित्यौँ । पछि भेटेरिनरीलाई अत्यावश्यक सेवामा राखिएपछि अलि सहज भयो । कोभिड १९ को शुरुआतमा किसानहरुलाई समस्या भएपछि विस्तारै सहज बनेको छ ।
भेटेरिएनहरु अग्रपंक्तिमा खटिएर कृषकको सेवामा लागिपरेका छौँ । कोभिड संकटको बेलामा पनि हामीले आफ्नो कर्तव्य निर्वाह गरौँ र कुनै दिनपनि काम रोकेनौँ । विश्व भेटेरिनरी दिवस २०२१ का अवसरमा सबैमा हार्दिक शुभकामना सहित पशु स्वास्थ्य र सेवाका लागि अनवरत लागि पर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।