डा मनबहादुर पुन
निर्देशक
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय
गण्डकी प्रदेश
निर्देशनालयले कस्ता सेवा प्रवाह गरिरहेको छ ?
सर्वप्रथम विश्व भेटेरिनरी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै पशु चिकित्सक, प्राविधिक तथा कृषक दाजुभाई दिदी बहिनीहरुमा शुभकामना व्यक्त गर्दछु ।
भेटेरिनरी सेवा अन्तर्गत पशुको उपचार, खोप , रोग निदान, पशु कल्याण, र स्रोत संरक्षण रहेको छ । विशेषगरी गण्डकी प्रदेशमा पशुपन्क्षीमा जन्मदेखी मृत्यु सम्मका कार्यक्रम हामीले कार्यान्वयन गरिरहेका छौँ । पशु उपचारसँगै, आहारा, बजारीकरण, पशु कल्याणको कार्यक्रम छन् । पशुपन्क्षी बिमा र अनुदानको कार्यक्रम पनि वास्तवमा पशुन्पक्षीको संरक्षण र सम्वद्र्धन होस् भनेर राखिएको हो । अनुदान पनि त्यसमा केन्द्रीत छ ।
गत वर्ष र चालू वर्षमा पशु कल्याण कार्यक्रममा लोप हुन लागेका पशुपन्क्षीको अनुवांशिक स्रोत संरक्षण कार्यक्रम छ । यसैगरी छाडा चौपायाहरुले दुःख पाइरहेका छन्, रोगव्याधीबाट समस्यामा छन्,तिनीहरुको कल्याणको लागि गौसालाको कार्यक्रम छ ।
कृषकहरु सरकारले दिएको भेटेरिनरी सेवाबाट सन्तुष्ट भएको पाइदैन नी ?
मुख्य कुरा संघीयतापछि हाम्रो पहिलाको संरचना घटाउदा समेत समस्या आएको छ । संघीय संरचनाको अभ्यास अहिले भइरहँदा विगतमा गण्डकीमा ११ जिल्लामा रहेका पशु सेवा कार्यालय संघीयतापछि सात वटा जिल्लामा मात्र भेटेरिनी अस्पताल स्थापना भयो ।
अर्को कूरा हाम्रो जनशक्ति एकदम न्यूनछ । नयाँ पूर्ति भएको छैन, भएकालाई परिचालन गर्ने हो । संघीयताको परिकल्पना अनुसार विभिन्न गाउँपालिका र नगरपालिकामा पनि हाम्रा साथीहरु समायोजना भएर जानु भएको छ । त्यसबाट पनि सेवा सुविधा प्रवाह भइरहेको छ । स्थानीय तहमा भेटेरिनरीका कार्यालय र कर्र्मचारी छन् ।
संघीयताको परिकल्पनानै कृषकले घरदैलोमानै सेवा पाओस् भन्ने हो । हामीले पूर्ण जिल्लाहरु मात्र हेर्ने हो । स्थानीय तहमा गाउँपालिका नगरपालिकाबाट कृषक दाजुभाईहरुले त्यहीबाट सेवा लिन सक्नुहुन्छ । अहिलेको भन्दा बढी सेवा पाएको हुनुपर्ने हो । अहिलेको प्रणाली कृषकहरु नबुझेर पनि समस्यामा परेका हुनसक्छन् । विशिष्टीकृत बाहेको सेवा स्थानीय तहबाटै प्रवाह भइरहेको छ ।
अहिले आएर जनशक्ति थप गर्नका लागि कर्मचारी करारमा भर्ना गर्ने प्रक्रिया शुरु भएको छ । नयाँ कर्मचारी आएपछि पठाउँछौँ । केही कर्मचारी थप हुँदा पक्कै पनि प्रवाह हुने सेवा बढ्छ ।त्यसैगरी यसअघि हाम्रो गण्डकी प्रदेशमा सात जिल्लामा भेटेरिनरी अस्पतालको कार्यालय रहेकामा प्रदेश सरकारले निर्णय गरेर हाल ११ वटै जिल्लामा पुगेको छ । सबै जिल्लामा कार्यालय र कर्मचारी पुगेकाले पक्कै पनि सेवा सुधार हुनेछ ।
गण्डकी प्रदेश पशु उत्पादनमा अवस्था कस्तो छ ?
पशुजन्य पदार्थ दूध र मासुमा हामी आत्मनिर्भर छौँ । राष्ट्यितह भन्दा धेरै अघि छौँ । प्रतिव्यक्ति दूध प्रतिवर्ष ९१ लिटर आवश्यक पर्ने राष्ट्रिय मापदण्ड भन्दा बढी छ । हाम्रो प्रदेशमा प्रतिव्यक्ति प्रतिवर्ष १०० लिटर छ ।
हामी अलिकति कमजोर माछामा छौँ । माछामा राष्ट्रियमा पनि कम छ । अण्डामा पुगेपनि अलिकति कम छ, सुधार गर्नुपर्ने छ । दूध र मासूमा पूर्ण आत्मनिर्भर छौँ । अन्य प्रदेशमा यहाँबाट दूध र मासु बाहिर जाने गरेको छ । अव क्यालिटीमा जोड दिएर प्रतिस्पर्धामा जानुपर्ने हुन्छ ।
पशुपालनमा कोभिडको प्रभाव कस्तो रह्यो ?
कोभिडले उत्पादन, ढुवानी र पशु उपचारमा समस्या भयो । शुरुआतमा धेरै समस्या कृषकले भोग्नुपर्ने अवस्था सिर्जना भएको थियो । त्यसलाई हामीले समाधान गर्दैै गयौँ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव र कृषि र पशुपन्क्षी निर्देशनालयका दुई निर्देशक निरन्तर समन्वयमा लागि परेका थियौँ ।
ढुवानीका देखिएका समस्या फुकुवा गर्दै दाना, दूध र मासु ढुवानीमा सहजिकरण गरियो । कृषकले केही राहत पाए । अहिले आएर पुनः कोभिडको दोस्रो चरणको त्रास देखिएको थियो । पहिला तयारीको समय नभएपनि अहिले हामीलाई समय छ तयारी गर्ने । पूर्वतयारी गर्नुपर्ने हुन्छ । स्थानीय प्रशासनबाट पशुजन्य सामग्रीको सहज ढुवानीका लागि पहल शुरु गरिसकेका छौँ ।