हिमाली आवाज । पदयात्रा पर्यटनमा सन् १९८१ देखि चासो र चर्चामा रहेर पनि पछिल्ला समयमा ओझेलमा परेको भुज्रुङ्गखोला–घलेखर्क–ताराहिलटप–सिक्लेस पदमार्गको प्रवद्र्धन गरिने भएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको प्रवद्र्धन एवं अखिल नेपाल पर्यटन मजदूर सङ्घ गण्डकी, कास्की जिल्ला समिति र पोखरा महानगरपालिका समितिको संयुक्त आयोजनामा उक्त क्षेत्रमा प्रवद्र्धनात्मक पदयात्रा गर्न लागिएको हो ।
पर्यटन मजदूरसहित पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिसहितको टोलीले यही चैत १० गतेदेखि उक्त पदमार्गमा दुई रात तीन दिनको पदयात्रा गर्न लागेको अखिल नेपाल पर्यटन मजदूर सङ्घ कास्कीका अध्यक्ष धनबहादुर तामाङले जानकारी दिनुभयो ।
पुरानो पदमार्ग भएर पनि सो मार्गमा व्यवस्थित चिया तथा खाजा खाने ठाउँ, होटेललगायत पूर्वाधार नभएका कारणपछि परेको उहाँकोे भनाई छ । अन्नपूर्ण हिम श्रृङ्खलासहितका हिमाली एवं पहाडी दृश्यलाई एक साथ अवलोकन गर्न सकिने यो पदमार्गमा पदयात्रा गर्दा अधिकतम दुई हजार ९०० मिटरको उचाइसम्म पुग्नुपर्छ ।
घलेखर्कदेखि माथि गुराँसैगुरासको जङ्गल भएका कारण चैत वैशाखको समय यस क्षेत्रको पदयात्रा निकै मनोरम हुने पर्यटन व्यवसायी बताउँछन् ।सम्भावना भएर पनि ओझेलमा परिरहेका पर्यटकीय गन्तव्यलाई पर्यटन सम्बद्ध सङ्घसंस्थाको सहकार्यमा नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्दै आएको बोर्डको प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले जानकारी दिनुभयो ।
जथाभावी मोटरबाटो खन्ने क्रमसँगै पदयात्रा पर्यटन सङ्कटमा पर्दै गएका अवस्थामा पछि परेका अवस्थामा पुरान ऐतिहासिक पदमार्गको प्रवद्र्धन र उत्थान गर्न खोजिनुलाई सकारात्मक रुपमा लिइएको छ ।