हिमाली आवाज । कास्कीको रुपा गाउँपालिकाले चौथो गाउँपालिका स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशका स्थानीय तहहरुकाबीचमा ‘अध्यक्ष कप भलिबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ ।
युवाहरुलाई खेलकूदतर्फ आकर्षित गरी स्वस्थ्य र समुन्नत समाज निर्माणको लक्ष्य सहित गाउँपालिका स्थापना दिवसका अवसरमा यही फागुन २३ देखी २७ गतेसम्म भलिबल प्रतियोगिता, लोपोन्मुख संस्कृति संरक्षणका लागि गाउँपालिकास्तरीय झाँकी प्रदर्शन प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिने गाउँपालिकाले आज पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।
भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहका वडाबाट सहभागिता जनाउन सकिने गाउँपालिका अध्यक्ष नवराज ओझाले बताउनुभयो । उहाँका अनुसार यसअघि विसं २०७५ मा पहिलोपटक अध्यक्ष कप स्थानीय तह भलिबल प्रतियोगिता लगायतका कार्यक्रम सम्पन्न गरेकामा गत वर्ष तयारी अन्तिम चरणमा पुगेको अवस्थामा कोरोनाका कारण सबै कार्यक्रम स्थगन गरिएकामा यस वर्ष पुनः निरन्तरता दिइएको हो ।
प्रतियोगितामा विजेता टोलीले रु ८० हजार उपविजेता रु ६० हजार, तृतीय टोलीलाई रु ४० हजार र सान्त्वना टोलीले रु ४० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।भलिबल प्रतियोगितामा उत्कृष्ट स्पाइकर, सर्भर, ब्लकर, सेटर, लिब्रो र सर्वोत्कृष्ट खेलाडीलाई जनही रु तीन हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
यसैगरी गाउँपालिकाले पालिकाका सात वटै वडाहरुमा लोप हुन लागेका जातजातिहरुको संस्कृति, परम्परालाई जगेर्ना र संरक्षण गर्ने उद्धेश्यले गाउँपालिकास्तरीय झाँकी प्रदर्शन प्रतियोगिता गर्ने भएको छ ।
गाउँपालिकाले वडा नं १ बाट बोटे जाति, वडा नं २ बाट दलित, वडा नं ३ बाट कुमाल, वडा नं ४ बाट ठकूरी, वडा नं ५ बाट गुरुङ र नेवार, वडा नं ६ बाट मुस्लिम र वडा नं ७ बाट नेवार अनिवार्य सहभागी हुने गरी विभिन्न समूहकाबीचमा झाँकी प्रतियोगिता हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुङ्गानाले बताउनुभयो । झाँकी प्रतियोगिताको प्रथम,द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेले क्रमश रु ३५ हजार, २० हजार र रु १५ हजार पुुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने विभिन्न प्रजातिका फूल तथा दुबोको प्रवद्र्धनका लागि प्रतियोगिता गर्ने भएको छ । माला प्रतियोगितामा विजेताले रु चार हजार, द्धितीयले रु तीन हजार र तृतीय हुनेले रु दुई हजार पुरस्कार पाउनेछन् । माला प्रतियोगितामा समावेश हुनका लागि मालामा बाह्य बस्तुहरु जरी, फूल लगायतका बस्तहरु प्रयोग गर्न नपाइने र झाँकी प्रतियोगितामा सहभागी हुने समूहबाट एउटा समूहले बढीमा पाँच वटा माला समावेश गर्नुपर्ने नियम बनाइएको छ ।
‘रुपा पहिचान ः सबै क्षेत्रमा समृद्धिको अभियान’ अन्तर्गत गाउँपालिकाले राष्ट्र निर्माण र राष्ट्रियताको संरक्षण र सम्वद्र्धनमा योगदान पु¥याउने गाउँपालिकाभित्रका स्रस्टा(साहित्यकार,लेखक) तथा विभिन्न विधाबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय खेलाडी सहित १४ जनालाई जनही रु १५ हजार १०१ का दरले सम्मान गर्ने जनाएको छ ।
संवैधानिक व्यवस्था अनुसार घर गाउँको सरकारको रुपमा स्थापित गाउँपालिकाले स्थानीय विकास र नागरिकका सरोकारका विषयलाई उठाउँदै समाधान गर्न पाउँदा आफूहरु खुःशी रहेको अध्यक्ष ओझाले बताउनुभयो ।
संघ र प्रदेश सरकारको सहयोगमा खानेपानी, सडक, शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा तीन वर्षका अवधिमा उल्लेखनीय कार्य गर्न सफल भएको दावी उहाँको छ ।