हिमाली आवाज । पोखराको नयाँसडक सुधार समितिले सोमबार दुई वटा प्रहरी विट एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुवास हमालले चिप्लेढुंगामा रहेको प्रहरी विट र वैदाम प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक चिनिमाया तामाङले सभागृहमा रिवन काटेर उद्घाटन गर्नुभयो । समितिका अध्यक्ष दीपेन्द्र मर्सानीले चावी सहित प्रहरी विट हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा प्रनाउ सुवास हमालले घामपानीको वेलामा प्रहरीलाई डियूटिमा खटेर सुरक्षा दिन समस्या परेको अवस्थामा नयाँसडक सुधार समितिको पहलमा सह्रानिय कार्य भएको बताउँदै सामाजिक संघ संस्था र प्रहरी मिलेर नै समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न सकिने धारणा राख्नुभयो ।
पोखरा ९ का वडा अध्यक्ष रामराज लामिछानेले प्रहरी विट राख्नको लागि भन्दा पनि नराख्नको लागि दवाव आएको अवस्थामा पनि मानवतासंग जोडिएको विषय भएकोले विट राख्ने निर्णय गरिएको बताउनुभयो ।
न्युरोड (नयाँसडक) मा वढ्दै गएको व्यवसायीकरण वेला वखत असुरक्षाका घटनाले न्युरोडको शान्ति सुरक्षा नै खलबल भएको र यसलाई न्युनिकरणको लागि न्युरोड सुधार समिति र प्रहरी प्रशासनको सहकार्य तथा जनसमुदायको सहभागितामा उक्त विटहरु करिब रु तीन लाखसम्पन्न भएको समितिका सहसचिव ओम उपाध्यायले बताउनुभयो । विट निर्माण पश्चात २४ सै घण्टा प्रहरी तैनाथ रहने भएकाले सुरक्षा कायम रहनेमा विश्वास व्यक्त गरिएको छ ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालयद्धारा उक्त विट निर्माणमा मुख्य भूमिका निर्वाह गर्ने वडा नं. ९ का वडा सचिव तथा सूचना अधिकारी लोकदर्शन कोइराला, विट निर्माण समितिका संयोजक निरज गुरुङ र नयाँसडक सुधार समितिका अध्यक्ष मर्सानीलाई सम्मान पत्र द्धारा सम्मान गरिएको थियो ।