हिमाली आवाज । चितवनमा प्राकृतिक चिकित्सा पद्धतीबाट कोभिड १९ संक्रमितको उपचार निकै प्रभावकारी बन्दै गएको छ ।
भरतपुर महानगरपालिका कोभिड १९ आइसोलेसन केन्द्र बागेश्वरीबाट कोरोना संक्रमणमुक्त हुनेको संख्या उल्लेख्य वृद्धि भएपछि प्राकृतिक चिकित्सा पद्धतिको विश्वसनीयता देखिएको हो ।बागेश्वरीबाट बुधबार मात्रै ८ जना निको भई घर फर्किए । यो केन्द्रमा हालसम्म ३ सय १० जना भर्ना भएर उपचार लिएका छन् भने अहिलेसम्म २ सय ५० जना निको भएर घर फर्किएका छन् ।योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर १, बागेश्वरीमा भरतपुर महानगर प्रमुख रेनु दाहालको पहल र महानगरको सहयोगमा आईसोलेसन केन्द्र सञ्चालन गरिएको हो ।
चिकित्सालयबाट अहिले सम्म कुनै बिरामी पनि रिफर गरेर बाहिर पठाउन परेको छैन । चिकित्सालयका निर्देशक डा. हेमराज कोइरालाका अनुसार संक्रमितहरुलाई आवधिक उपवास अर्थात् ८ घन्टा खाना खाने र १६ घन्टा भोकै राखेर उपचार गरिँदै आएको छ । भाइरस प्रतिकारी जडिबुटी र उच्च फाइबरयुक्त भोजनका साथै योग, ध्यान, सत्संग यहाको नियमित कार्य हो।
निको भएर घर फकिर्नेहरुलाई भरतपुर महानगर प्रमुख मेयर रेनु दाहालले गुर्जोको बिरुवा र निरोगिताको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।यस केन्द्रमा काम गर्ने चिकित्सक, कर्मचारीलाई पारिश्रमिक, बिमादेखि बिरामीहरुलाई खाना तथा यस केन्द्रको संचालनका लागि भरतपुर महानगरपालिकाले सम्पूर्ण ब्यवस्थापन गरेको महानगर प्रमुख रेनु दाहालले बताउनु भयो ।
“विश्वब्यापी महामारीबाट महानगरवासीलाई जोगाउने प्रयास गरिरहेका छौं।” मेयर रेनु दाहालले भन्नुभयो, “संघीय सरकारले कोभिडका बिरामीहरुको उपचार राज्यले नगर्ने भनेपनि भरतपुर महानगरपालिकाले यस केन्द्रमा उपचारको लागि आएका बिरामीहरुको पिसिआर परिक्षणदेखि उपचार निःशुल्क रुपमै गछ ।”
प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले भरतपुर महानगरपालिकाले संचालन गरेको आइसोलेसन केन्द्र देशकै नमूना भएको दाबी गर्नुभयो । महामारीको अवस्थामा नागरिकको उपचार राज्यले गर्दिन भन्न नपाउने पोखरेलको भनाई छ ।