पोखराको पृथ्वीनारायण क्याम्पसमा सोमबार विहानदेखी मतगणना गरिने

हिमाली आवाज । विद्यार्थी संख्याका हिसाबले देशकै सबैभन्दा ठूलो पोखराको पृथ्वीनारायण क्याम्पसमा भोली सोमबार विहान ८ बजेदेखि  मतगणना सुरु गरिने भएको छ ।

क्याम्पसको आज सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मत गणना भोली गर्ने सर्वदलीय बैठकले निर्णय गरेको मुख्य निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिनुभयो । आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म भएको मतदानमा २ हजार ८९७ विद्यार्थी सहभागी भएका थिए । नौ हजार दुई सय ७० मतदाता रहेको क्याम्पसमा ३१.२५ प्रतिशत मात्र मत खसेको हो ।

पृथ्वीनारायण क्याम्पसको २२ औं स्ववियु सभापतिका लागि आठ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ नौ वटा विद्यार्थी संघ, संगठन, प्यानल दर्ता भएका छन् ।

स्ववियु अध्यक्षका लागि अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, अखिल (क्रान्तिकारी) बाट नवीन अधिकारी, अखिल (छैटौं) बाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरुङ,संयुक्त प्यानलबाट सन्तोष पौडेल, कमल सुवेदी र विप्लवी न्यौपाने स्वतन्त्र उम्मेदवार रहनुभएको छ ।

Comments
Loading...