हिमाली आवाज । पोखरा महानगरपालिका कार्यालयमा कार्यरत एक जना अधिकृतलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले घुस सहित नियन्त्रणमा लिएको छ ।

महानगरको उजुरी फर्छोट समन्वय शाखामा प्रशासकीय अधिकृत पदमा कार्यरत कपिल गिरीलाई न्यूरोडस्थित महानगर कार्यालय अगाडिबाट दिउसो ४ः०० बजे रु २५ हजार घुस लिएको अभियोगमा नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका उपसचिव एवं सूचना अधिकारी राकेश पाण्डेले जानकारी दिनुभयो ।
“एक जना व्यक्तिलाई तपाईको विरुद्धमा अख्तियारमा उजुरी परेको छ, सो उजुरी मिलाउनका लागि पैसा दिनुपर्दछ भनेर माग भएको रहेछ । सोही आधारमा रकम सहित गिरीलाई नियन्त्रणमा लिएका छौँ ।” सूचना अधिकारी पाण्डेले भन्नुभयो । अख्तियारका अनुसार पक्राउ परेका गिरीका बारेमा थप अनुसन्धान कार्य भइरहेको छ ।
महानगरका रहेको उजुरी फर्छोट समन्वय शाखाले अख्तियार लगायतका निकायमा महानगरका विरुद्ध परेका उजुरीहरुमा जवाफ पठाउने तथा समन्वय गर्ने लगायतका कार्य गर्दै आएको छ ।