हिमाली आवाज । देशको पर्यटकीय राजधानी पोखरामा नेपाल लिटरेचर फेस्टिभलको बाह्रौ संस्करणको तयारी गरिएको छ । यही फागुन १५ देखि १८ गतेसम्म पोखरास्थित फेवाताल किनारको बाराही घाटमा साहित्य महोत्सव गर्न हुँदैछ ।
साहित्य महोत्सवको आयोजक बुकवर्म फाउन्डेसनले आज त्रकार सम्मेलन गरेर अघिल्ला संस्करणजस्तै यस वर्ष पनि ‘साहित्यको कुम्भमेला’ को तयारी गरिएको जनाएको छ ।
सेसन कक्ष र स्टल तयारीको काम अन्तिम चरणमा पुगेको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले जानकारी दिनुभयो । फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र, अन्तक्र्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम समावेश गरिएको छ । देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतको उपस्थिति रहने छ । फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ ।
यसपटक प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत प्रवचनसँगै फेस्टिभल सुरू हुने कार्यकारी निर्देशक भारीले जानकारी दिनुभयो । उहाँ इन्दिरा गान्धी ओपेन यूनिभर्सिटी (आईजीएओयू)को प्रो–उपकुलपति,भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति तथा भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपतिसमेत बन्नुभएको थियो ।
विद्वत् प्रवचनलगत्तै अध्यात्म र संघर्षमाथि अभिनेत्री मनीषा कोइराला र पत्रकार विजय कुमारको विशेष संवाद हुनेछ । यसैगरी महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’को आवरण तथा पुस्ताकांश लोकार्पण पनि विविध विशेष सत्रमध्ये एक हो । हमालको पुस्तक प्रकाशोन्मुख छ ।
फेस्टिभलमा उद्यमी एव लेखक जीवा लामिछानेको बहुप्रतीक्षित पुस्तक ‘अक्षत अन्टार्कटिका’को लोकार्पण हुने आयोजकले जनाएको छ । नेपाली क्रिकेटका ढुकढुकी पारस खड्का हुन् या साहित्यानुरागीबीच चर्चित भूषिता वशिष्ठ, समाजसेवालाई आफ्नो कर्म बनाएका डा. भगवान कोइरालादेखि म्यागी डोएनसम्मको प्रेरणादायी संवाद फेस्टिभलमा रहनेछन् । म्यागी अमेरिकन समाजसेवी हुन् । सुर्खेतस्थित एक बालगृहको सहसंस्थापक उनी सन् २०१५ को सीएनएन हिरो हुन् ।
नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता फेस्टिभलका दुई सत्रमा रहनेछ । उनको छोटो कथा संग्रह, ‘लिच एण्ड अदर स्टोरीज’माथि उनी र भूषिता वशिष्ठबीच संवाद हुनेछ । उहाँका कथा र लेखहरू स्टोरी क्वार्टरली, द न्यू योर्क टाइम्स, हफी पोस्ट, द साल्ट लेक ट्रिब्यून, लगायतमा प्रकाशित छन् । उहाँ वेस्टमिन्स्टर विश्वविद्यालय, साल्ट लेक सिटी र युटामा रचनात्मक लेखनविधि पढाउनुहुन्छ ।
फेस्टिभलको यो संस्करणमा दुई फरक पुस्ताका लेखकको पुस्तकमाथि विमर्श हुनेछ । अग्रज वामपन्थी नेता एवम् नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि विमर्श हुने र ६ वर्षीय भूमिलक्ष्मी पराजुलीको ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरिने फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिनुभयो । ८९ वर्षीय सिंहको एक हजार ३२० पृष्ठको उपन्यास नेपालमा प्रकाशित सबैभन्दा ठूलो पुस्तक भएको बताइन्छ ।

परम्परागत धुनदेखि पपसम्म वा यी दुवै विधाका सङ्गीतको मिश्रणले फेस्टिभलका साँझहरूलाई संगीतमय बनाउनेछ । सांगीतिक कार्यक्रमहरूमा प्रोजेक्ट सारङ्गीअन्तर्गत किरण नेपालीको नेतृत्वमा सामूहिक प्रस्तुति हुनेछ । त्यस्तै नेपाली संगीतका पप–सम्राटका रूपमा परिचित ओमविक्रम विष्टले पनि फेस्टिभललाई गुञ्जायमान बनाउनेछन् ।
परम्परागत धुन र लयहरूलाई समकालीन परिवेश सुहाउँदो स्वरूप दिने सांगीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ । काठमाडौँ विश्वविद्यालयको संगीत विभागका विद्यार्थीहरूको सामूहिक परियोजनाका रूपमा सुरु भएको यस ब्यान्डको संगीतमा नेपाली लोक, रक र भारतीय शास्त्रीय संगीतको समिश्रण सुन्न सकिन्छ ।
सिर्जनाको अर्को विधा चित्रकलालाई यस वर्ष पनि प्राथमिकता दिइएको कार्यकारी निर्देशक भारीले सुनाउनुभयो । यस संस्करणमा परम्परागत पौभा चित्रका विश्व प्रसिद्ध कलाकार लोक चित्रकारका चित्र प्रदर्शनीमा राखिने छ ।
विश्वप्रसिद्ध भारतीय लेखक शशि थरूरको पुस्तक ‘ह्वाई आई एम अ हिन्दू’को नेपाली संस्करण लोकार्पणसँगै फेस्टिभलको साङ्गे हुनेछ । भारतीय राजनीति, इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषक तथा चर्चित लेखक थरूरका कैयौं पुस्तकले विश्वव्यापी चर्चा पाएका छन् ।
शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै फेस्टिभलका निर्देशक अजित बरालले सन् २०११ देखि नेपाल लिटरेचर फेस्टिभलको आयोजनापछि नेपालमा वार्षिक रूपमा दर्जनौं साहित्यिक महोत्सव हुन थालेको र यो निकै खुसीको कुरा भएको बताउनुभयो । ‘सुर्खेत, काठमाडौं, पोखरा, धादिङ, काँकडभिट्टा, विराटनगर र टीकापुरमा साहित्य र विचारका महोत्सव गरिँदै छ,’ बरालले भन्नुभयो, ‘यस्ता फेस्टिभलले ‘पब्लिक डिस्कोर्स’लाई बलियो बनाएको छ । यसको श्रेय नेपाल लिटरेचर फेस्टिभललाई जान्छ ।’
एनसेलकी इन्टेरिम मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले सञ्चारको क्षेत्रबाट मात्र नभई कला र साहित्यबाट पनि आफूहरू समाजसँग जोडिएको बताउनुभयो । कला–संस्कृति र साहित्य समाजको धरोहर भएको र एनसेल फाउन्डेसनमार्फत फेस्टिभलसँग १० वर्षपछि फेरि आबद्ध हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो । ‘कला, साहित्य र संस्कृति हाम्रा धरोहर हुन् । यिनको जगेर्ना गर्नु सबैको जिम्मेवारी हो । नेपाल लिटरेचर फेस्टिभलका सुरुका वर्षहरुमा हाम्रो सहयात्रा एकदमै राम्रो रह्यो । एक दशकपछि पुनः सहकार्य गर्न पाएकोमा हामी अत्यन्तै हर्षित छौं ।’
फेस्टिभल आयोजक सदस्य एवम् पत्रकार केशवशरण लामिछानेले साहित्य र नेपाल लिटरेचर फेस्टिभलको महत्वबारे चर्चा गर्नुभयो । उहाँले साहित्यले समाजमा पु¥याएका योगदानहरूका उदाहरण दिँदै भन्नुभयो,‘साहित्यले सामाजिक न्यायको क्षेत्रमा, मूल्य र मान्यता भत्काउने र निर्माण गर्ने काममा सघन भूमिका खेलेको हुन्छ । सँगै यसले अल्पसङ्ख्यक, पिछडिएका वर्गलगायतको भाषा, बोली, पिँधको आवाज र रोदनलाई मूलधारको मुद्दा बनाउने काम पनि गर्छ । नेपाली समाज पनि अझ बढी सहिष्णु, सहानुभूतिपूर्ण, स्वतन्त्रतावादी र सभ्य बनोस् भन्ने हाम्रो चाहना छ । त्यही कार्यलाई टेवा पु¥याउन नै नेपाल लिटरेचर फेस्टिभल आयोजना गरिएको हो ।’
फेस्टिभल आयोजक सदस्य एवं पत्रकार भरत कोइरालाले इभेन्टहरूको सहर पोखरामा बर्सेनि हुँदै आएको लिटरेचर फेस्टिभलले सहरको संस्कृति र सभ्यता निर्माण थप योगदान पु¥याएको विश्वास व्यक्त गर्नुभयो ।
फेस्टिभलको आयोजक ३६ लाख ७३ हजार रूपैयाँ घाटामा रहेको कार्यकारी निर्देशक निरज भारीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । एघारौं संस्करणमा एक करोड १० लाख ९२ लाख रूपैयाँ आम्दानी र एक करोड १४ लाख ७६ हजार रूपैयाँ खर्च भएको बताइन्छ । गत संस्करणमा मात्र ३ लाख ८३ हजार ३ सय ६० रूपैयाँ घाटा भएको थियो । ‘दसौं संस्करणमा हामीसँग टाइटल स्पोन्सर थिएन । त्यसैले त्यो संस्करणको घाटा अहिलेसम्म व्यहोर्नुपरेको छ,’ भारीले भन्नुभयो‘पोखराका साहित्य प्रेमी र देशका अग्रज र समकालीन लेखकहरूको साथले हामीलाई यो फेस्टिभल निरन्तर गर्न झकझकाएको छ । नाफा घाटाभन्दा पनि फेस्टिभलले साहित्य र कला क्षेत्रलाई के दियो भन्ने प्रमुख विषय हो ।’
फेस्टिभलको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुहुनेछ । फेस्टिभललाई बुद्ध एयरले सम्वद्र्धन गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवद्र्धक छ । त्यस्तै उप–प्रवद्र्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकले आयोजकलाई साथ दिएका छन् ।