हिमाली आवाज । विभागीय नेपाल पुलिस क्बले पोखरामा सञ्चालन भएको टाइगर कप भबिलको उपाधि जितेको छ । यसैगरी महिलातर्फ आयोजक टोली टाइगर ग्रुपले उपाधि जित्न सफल भयो ।
टाइगर ग्रुप अफ अफ पोखराद्धारा आयोजना गरिएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेशलाई हराउँदै पुलिस च्याम्पियन बन्न सफल भयो ।
पोखरा रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा गण्डकीलाई ३–१ को सेटले पराजित गर्दै पुलिसले पुरुषतर्फको उपाधि जितेको हो ।
पहिलो, दोस्रो र चौथो सेटमा पुलिसले जित निकाल्यो । पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले जितेको पुलिसले तेस्रो सेट २०–२५ ले गण्डकीलाई सुम्पिएको थियो । दोस्रो सेटमा १२–१५ को अग्रतालाई उल्टाउँदै पुलिसले २५–२१ को जित निकालेको थियो । चौथो सेट २५–२२ ले जित निकाल्दै पुलिस उपाधि चुम्न सफल रह्यो ।
उपाधि जितेको पुलिसले रु पाँच लाख ८५ हजार पाँच ५५,ट्रफी र मेडल पुरस्कार प्राप्त गर्दा उपविजेता गण्डकी प्रदेश रु दुई लाख ८५ हजार पाँच सय ५५ पायो ।
यसअघि आजनै सम्पन्न भएको महिलातर्फको फाइनल प्रतिस्पर्धामा विभागीय सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–२ को सेटले पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।
च्याम्पियन बनेको टाइगर गु्रपले नगद रु पाँच लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पाउँदा उपविजेता बनेको एपिएफले रु दुई लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पायो ।
पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१–२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६ ले जित निकाल्दा खेल पाँचौ सेटमा धकेलिएको थियो ।
पाँचौं सेटमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १५–१३ को जित निकाल्दै उपाधि चुम्न सफल भएको थियो ।