खेलकुद पत्रकार मञ्च गण्डकीमा आस्थामगर निर्वाचित

हिमाली आवाज । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्तीमगर(एमबी आस्था) निर्वाचित हुनुभएको छ । मञ्चको बिहीबार सम्पन्न तेस्रो अधिवेशनले आगामी दुई वर्षको कार्यकालका लागि आस्थाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

प्रतिस्पर्धी सुरज श्रेष्ठलाई नौ मतान्तरले पराजित गर्दै आस्था निर्वाचित हुनुभएको हो । अध्यक्षमा विजयी आस्थाले ३६ मत प्राप्त गर्दा प्रत्याशी श्रेष्ठले २७ मत पाउनुभयो ।
यसैगरी उपाध्यक्षमा राजाराम पौडेल, उपाध्यक्ष समावेशीमा उमा आलेमगर, महासचिवमा पर्शुराम शर्मा, सचिवमा राजु गिरी र कोषाध्यक्षमा विमल तिवारी निर्वाचित हुनुभयो ।
मञ्चको उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरुमा सर्वसम्वत भए पनि अध्यक्ष, उपाध्यक्ष (समावेशी), महासचिव र सचिवमा निर्वाचन भएको थियो ।
यसैगरी कार्यसमितिको सदस्यमा कृष्ण दवाडी, गीता राना, चेतबहादुर (प्रवीण) थापा, बसबहादुर (वसन्त) शेर्पा, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पौडेल निर्वाचित हुनुभयो । नवनिर्वाचित अध्यक्ष आस्था मगरले खेलकुद विधामा कलम चलाइरहेका पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि योजना बनाएर काम गर्र्ने प्रतिवद्धता जनाउनुभयो ।

मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको उद्घाटन सत्रको गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुदमन्त्री विन्दु कुमार थापाले उद्घाटन गर्नुभएको थियो ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारहरुको साझा संस्था हो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तरोन्नति गर्दै विसं २०७५ मा स्वायत्त संस्थाको रुपमा विकास गरिएको हो ।

मञ्चले खेल पत्रकारको क्षमता अभिवृद्धिको लागि तालिम तथा लगायत खेल क्षेत्रमा कलम चलाउने पत्रकारको हकहित र सहयोगको काम गरिरहेको छ ।
मञ्चले हरेक वर्ष भव्य समारोहबीच आयोजना गर्ने पोखरा स्पोट्र्स अवार्डले खेल क्षेत्रमा अगाडि बढ्नेलाई उत्प्रेरणा दिने कार्य मात्र नगरी मञ्च प्रतिको आकर्षण बढाएको छ ।

Comments
Loading...