हिमाली आवाज । पोखरामा सञ्चालन भएको ‘पोखरा कप’ राष्ट्रिय पुरूष बास्केटबल प्रतियोगिताको उपाधि घरेलु टोली गण्डकी प्रदेशले जितेको छ ।
पोखरा रङ्गशालास्थित बास्केटबल कोर्टमा बुधबार सम्पन्न फाइनल खेलमा बागमती प्रदेशमाथि ८१–७८ को झिनो अन्तरको जित निकाल्दै गण्डकी च्याम्पियन बन्यो ।
खेलमा गण्डकीले पहिलो क्वाटरमा २४–१८ ले अग्रता बनाएपनि दोस्रो क्वाटरमा बागमतीले २२–१७ ले अघि रह्यो । तृतीय क्वाटरमा समेत गण्डकी १७–२६ ले पछि रह्यो । तर अन्तिम तथा चौथो क्वाटर गण्डकीले २३–१२ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।
प्रतियोगिताको च्याम्पियन बनेको गण्डकीले नगद रु एक लाख ११ हजार एक सय ११, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्दा उपविजेता बागमतीले नगद रु ६६ हजार छ सय ६६ मा चित्त बुझायो ।
प्रतियोगितामा लुम्विनी प्रदेशले तस्रो स्थान हात पारेको छ । तेस्रो स्थानका लागि भएको खेलमा कर्णाली प्रदेशलाई ९०–२६ को स्कोरमा लुम्बिनीले पराजित गरेको हो । लुम्विनीले नगद रु ३३ हजार तीन सय ३३ का साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पायो ।
विजेता खेलाडीहरूलाई गण्डकी प्रदेश सभाका पूर्व सदस्य मोहन रेग्मी, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष एवं गण्डकी प्रदेश बास्केटबल सङ्घका अध्यक्ष धोज कुमार गुरुङ, नेपाल बास्केटबल सङ्घका उपाध्यक्ष जुम प्रसाद गुरूङ, प्रदेश खेलकुद परिषदका सदस्यद्वय शुभकन्या गुरूङ र विष्णुमाया गुरूङ लगायतले पुरस्कार वितरण गर्नुभयो ।
गण्डकी प्रदेश बास्केटबल सङ्घको आयोजनामा यही माघ ७ गतेदेखी प्रतियोगिता भएको हो । प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बाहेकका छ प्रदेशको सहभागिता रहेको थियो ।
पोखरामा सञ्चालन भएको यो प्रतियोगिता नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछिको पहिलो राष्ट्रिय बास्केटबल प्रतियोगिता समेत हो । यस प्रतियोगितालाई आसन्न दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटका रुपमा समेत लिइएको छ ।