हिमाली आवाज । पोखरामा यही माघ १२ गतेदेखी पाँचौँ संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप’ महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ छ र महिलातर्फ छ गरी कूल १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने निश्चित भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुरुषतर्फ श्रीलंकाको भलिबल टिमसहित नेपालका प्रतिष्ठित टिमले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीमा टिपटप हेल्प नेपाल स्पोट्र्स क्लब काठमाडौँ, गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, र नेपाल एपीएफ क्लब छन्।
यसैगरी महिलातर्फ विदेशी थाइल्याण्डको युनाइटेड प्यासन भलिबल क्लब सहित नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, र टाइगर ग्रुप अफ पोखरा नेपाल रहेका छन्।
प्रतियोगिताको च्याम्पियन टोलीले महिला तथा पुरुषतर्फ समान नगद रु पाँच लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् । द्वितीय टोलीलाई समान रु दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीय टोलीले रु एक लाख ८५ हजारा पाँच सय ५५ ट्रफी र मेडल प्राप्त गर्ने जनाइएको छ ।
महिला तथा पुरुष दुवैतर्फ सर्वोत्कृष्ट बन्ने खेलाडीले जनही रु २५ हजार सात सय ७७, पाउनेछन् भने दुवैतर्फ विधागत उत्कृष्ट ठहरिने खेलाडीलाई जनही रु १० हजार पाँच सय ५५ का दरले पुरस्कार पाउनेछन् ।
प्रतियोगिताका संयोजक रामकृष्ण ज्ञवालीले विगतका वर्षहरुमा भन्दा यस वर्षको प्रतियोगता भव्य बनाउने गरी आफूहरु लागि परेको बताउनुभयो । उहाँले विदेशका उत्कृष्ट टोली र नेपाली टोलीमा समेत रहेका विदेशी खेलाडीहरुको प्रदर्शनले प्रतियोगिता रोचक बन्ने अपेक्षा गरिएको उल्लेख गर्नुभयो । विभागीय बाहेकका सबै टोलीमा विदेशी खेलाडी आवद्ध रहेकाले प्रतियोगिता रोचक र प्रतिस्पर्धात्मक हुने ज्ञवालीले बताउनुभयो ।
प्रतियोगिता संयोजक ज्ञवालीले भन्नुभयो,“विदेशी टिमहरुले समेत भाग लिनु नेपाली भलिबलप्रेमीका लागि सुखद् खबर हो । प्रतियोगितालाई थप आकर्षक बनाउन र दर्शकहरुलाई सहज ढंगले खेल हेर्ने अवसर प्रदान गर्नका लागि विगतमा भन्दा प्यारापिटको क्षमता विस्तार गरेका छौँ ।”
प्रतियोगितालाई समयानुकुल डिजिटल प्रविधिमैत्री बनाउँदै प्रविधिमा समेत अन्तर्राष्ट्रियस्तरकै बनाउने प्रयास गरिएको प्रतियोगिताका प्रचारप्रसार संयोजक इन्द्रप्रसाद पौडेलले बताउनुभयो ।
टाइगर कप भलिबलको अघिल्लो संस्करणको उपाधि पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लबले र महिलातर्फ एपीएफ क्लबले जितेका थिए ।