हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) माछापुच्छ्रे गाउँपालिका समितिले जनतासँग श्रम अभियान सुरु गरेको छ ।
प्रत्येक महिनाको एक दिन जनताको घरमा पुग्ने र श्रम कार्यमा जोडिने नीति अनुसार श्रम अभियान सुरु गरिएको पालिका अध्यक्ष गोपाल पोखरेलले बताउनुभयो ।
अभियानको पहिलो दिन आज माछापुच्छ्रे गाउँपालिका वडा नं. १ करुवामा करुवा तामाङ समाजलाई माओवादी केन्द्रको सहयोग गरेको छ । करुवास्थित तामाङ समाजको सामुदायिक भवन निर्माणका लागि माओवादी केन्द्रले श्रम तथा अन्य निर्माण सामग्री सहयोग प्रदान गरेको छ । नेकपा(माओवादी केन्द्रं प्रदेश कमिटी सदस्य भोजराज पौडेल तथा पालिका समिति अध्यक्ष गोपाल पोखरेलको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो।
कार्यक्रमको सहजीकरण सूर्य तामाङले गर्नुभएको थियो। तामाङ समाजका प्रतिनिधिहरूले सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यसले समुदायमा थप सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
हस्तान्तरण कार्यक्रममा स्थानीय समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा माओवादी केन्द्रका नेताहरूले समुदायको विकास र सामाजिक उत्थानका लागि आफूहरू सधैं प्रतिबद्ध रहेको जनाए।
समाज भवनले स्थानीय तामाङ समुदायको सांस्कृतिक, सामाजिक, र शैक्षिक गतिविधिहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। सो कार्यक्रममा माओवादी केन्द्रका जनप्रतिनिधि तथा माछापुच्छ्रे गाउँपालिकाका नेताहरुको उपस्थिति रहेको थियो ।