हिमाली आवाज । माघ दोस्रो सातादेखि हुने पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि गण्डकी प्रदेशले ३ विदेशी खेलाडी अनुबन्ध गरेको छ । गण्डकीले टाइगर कपका लागि पुरुषतर्फ ट्युनिसियाका फाहिम मिलाडीसहित ३ खेलाडीलाई टिममा अनुबन्ध गरेको प्रदेश भलिब संघका अध्यक्ष नविन गुरुङले जानकारी दिनुभयो ।
फाहिमसहित केन्याका निकोशल मातुयी र कंगोका यानिक सेशालाई गण्डकीले टोलीमा अनुबन्ध गरेको हो । अन्य खेलाडीको हकमा भने छलफल गरेर घोषणा गर्ने अध्यक्ष गुरुङले बताउनुभयो । गण्डकी अघिल्लो संस्करणको उपविजेता टोली पनि हो । यसपटक भने गण्डकीले महिला टोलीलाई सहभागी बनाएको छैन ।
पाँचौं टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा ६–६ टोलीले सहभागिता जनाएका छन् । माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने चल्ने प्रतियोगिताको विजेताले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालका आयोजनामा हुन लागेको प्रतियोगिताको उपविजेताले २ लाख ८५ हजार ५५५ र तेस्रो हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।