निर्माण सामग्रीको मूल्यवृद्धि नियन्त्रण गर्न कास्कीका निर्माण र हार्डवेयर व्यवसायीको माग

हिमाली आवाज । पोखराका निर्माण व्यवसायी र हार्डवेयर व्यवसायीले सिमेन्ट लगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धि तुरुन्त नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।

नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष लिल काजी गुरुङको अध्यक्षतामा आज बसेको गण्डकी प्रदेश निर्माण व्यवसायी संघ र पोखरा हार्डवेयर एशोसिएसन कास्कीको संयुक्त बैठकले सिमेन्ट लगायत निर्माण सामग्रीमा भएको अस्वभाविक मुल्य बृद्धि नियन्त्रणको लागि सरकारसँग माग गरेको हो ।

सिमेण्ट लगायतका निर्माण सामाग्री उत्पादनसँग सम्बन्धित इन्धन सहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ गरी विगत दुई महिनादेखी निर्माण सामग्रीको मूल्य वृद्धि भएको संघका अध्यक्ष गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो,“निर्माण कार्य हुने अहिलेकै सिजनमा सिमित सिमेण्ट उद्योगीहरुले मूल्यवृद्धिसँगै कार्टेलिङ गरेकाले आम उपभोक्ता, हार्डवेयर व्यवसायी र निर्माण व्यवसायीलाई मार परेको छ । यसले काममा असर पुगेको छ । अवैज्ञानिक मूल्यवृद्धि दण्डनीय अपराध भएकाले मूल्य वृद्धि नियन्त्रण गर्न सरकारसँग संयुक्त माग गरेका छौँ ।”

बैठकपछि नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष लिलकाजी गुरुङ, पोखरा हार्डवयर एशोसिएसनका अध्यक्ष अर्जुनबहादुर थापा र गण्डकी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष टंकराज बरालले संयुक्त विज्ञप्ति जारी गरी अस्वभाविक मूल्य वृद्धि नियन्त्रण गर्न माग गर्नुभएको संघका सचिव डम्बरराज ढकालले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

Comments
Loading...