घलेल उत्सवः भलिबलको उपाधिका लागि धम्पुस र घान्द्रुक भिड्ने

हिमाली आवाज । तमु समुदायको मुख्य पर्व ल्होछार÷ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सवमा पुरुषतर्फको भलिबलको उपाधिका लागि घान्द्रुक किम्चे गाउँ र धम्पुस लेककुना गाउँ भिड्ने भएका छन् ।

आज भएको सेमिफाइनल खेलमा धम्पुस लेककुना गाउँले कुइबाङ गाउँलाई ३–१ को सेटले पराजित गर्दै धम्पुस लेककुना फाइनलमा पुगेको हो ।
यस्तै अर्काे सेमिफाइनल खेलमा घान्द्रुक किम्चे गाउँले ठुलाखेत गाउँलाई ३–१ कै सेटमा हराउँदै फाइनलमा घान्द्रुकसँगको भेट पक्का गरेको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार महिलातर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुर र हर्स राइडर समूह छोम्रोङ फाइनलमा प्रवेश गरिसकेको छ । भने, प्रौढतर्फ युनाइटेड किङ्स क्लब र छारमेन्दो तक्रो फाइनलमा पुगिसकेका छन् । तिनै विधाको फाइनल खेल भोली हुनेछ ।
बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी गत १५ देखि जारी उत्सवको गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगितातर्फको विजेतालाई ६५ हजार र उपविजेतालाई नगद ४५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

सेमिफाइनलमा प्रवेश गर्ने दुवै टिमलाई जनही १० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी सर्वाेत्कृष्ट हुने खेलाडीलाई गो बन्जी नेपालबाट बन्जी जम्प गर्ने अवसर प्रदान गरिने भलिबल खेल संयोजक गणेश बिसीले बताउनुभयो ।

यसैगरी महिला भलिबल तर्फको विजेतालाई ३० हजार उपविजेतालाई २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले बोका (ठुलो) र उपविजेताले बोका (सानो)सँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

घोडा दौड प्रतियोगिताको विजेताले नगद रु ४० हजार र उपविजेताले २० हजार, सान्त्वना स्थान हाँसिल गर्नेले १० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसअघि खुला सामुहिक नृत्य प्रतियोगिता, घोडा दौड लगायतका प्रतियोगिता सम्पन्न भइसकेका छन् । भने, चर्चित लोक तथा दोहोरी गायक चिज गुरुङ, गायीका मधु थापामगर तथा बालकाशी गुरुङ लगायतले सांगीतिक प्रस्तुती दिनुभयो ।

Comments
Loading...