हिमाली आवाज । गण्डकी प्रदेश सभाका सभामुख कृष्ण प्रसाद धितालले कृषि सहकारी सस्था नेपालको विकासको मोडल हुन सक्ने भएकाले कृषि सहकारीहरुलाई चलायमान बनाउन सके आर्थिक बिकासले फड्को मार्ने बताउनु भएको छ ।
गोरखाको सहिद लखन गाउँपालिका मनकामनामा संचालित साना किसान कृषि सहकारी संस्थाको २० औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले लामो समय देखी कृषि क्षेत्रको विकासमा निरन्तर लागिरहेको उक्त सहकारीको उज्वल भबिष्यको कामना समेत गर्नुभयो ।
सहकारीलाई राम्रो ढंगबाट संचालन गर्न सके समाजवाद उन्मुख समाज निर्माणमा सहयोग पुग्ने बताउँदै कृषि र कृषकका समस्या समाधानमा कृषि सहकारीहरुले महत्वपूर्ण भूमीका खेल्दै आएको बताउनुभयो ।
सानो सानो आम्दानीलाई निरन्तर बचत गर्दै आवश्यकताको आधारमा ऋण लिइ व्यवसायीक सोच बनाउन सहकारी मोडल उचित रहेको उहाँको भनाई थियो । पछिल्लो समय केहि सहकारी संचालकको बदमासीका कारण सहकारीको बिषयमा धेरै प्रश्न उठिरहेको बताउदै सहकारीको सही ब्यवस्थापन तथा उचित नियमन गरी सहकारीप्रतिको बिश्वास जगाउनु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
कार्यक्रमका बिशेष अतिथि सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले कृषि सहकारी गाउँपालिका कै नमुना भएको बताउदै पालिकाको कृषि क्षेत्रको विकासमा सहकारीले महत्वपूर्ण भूमिका खेल्दै आएको जानकारी दिनुभयो । गाउँपालिकाले सहकारी हेर्ने शाखाको बिस्तार गरेकाले सहकारीहरुलाई नियमन गर्ने, पार्दशीता हेर्ने, साधारण सभाबाट पारित भएका नियम बिनियमहरु अनुसार काम भए नभएको हेर्ने गरिरहेको उहाँले बताउनुभयो । पालिकामा अहिले उत्पादनमा आधारीत भएर अनुदानको व्यवस्था गरिएकाले उक्त कृषि सहकारीले पनि अनुदानमा आधारीत सुबिदा प्राप्त गरेको उहाँले जानकारी दिनुभयो ।
साना किसान बिकास लधुवित्त वित्तिय संस्था शाखा कार्यालय पोखराका प्रबन्धक पदम रेग्मीले उचित ब्यवस्थापनमा संचालन भएका सहकारीमा कुनै समस्या नरहेकाले सबैले विश्वास गर्नुपर्ने बताउनुभयो ।
साबिकको मनकामना गाउँ विकास समिति र हालको सहिद लखन वडा नं. २ र ३ मा कार्यक्षेत्र रहेको उक्त सहकारीले आउँदा दिनमा रामशाहघाट नजिक दोभान हाटबजारमा आफ्नै जग्गामा गोदाम घर निर्माण गरेर कृषकलाई मल बिउ लगायत आवश्यक सामाग्री बिक्री बितरण तथा खरिद गरी बजारीकरणमा थप सहज बनाउने लक्ष्य रहेको सहकारीका अध्यक्ष कृष्ण बाबु श्रेष्ठले बताउनुभयो । हाल सहकारीमा २२५ समुहका १३०२ जना सदस्यहरु रहेका छन् । सहकारीको शेयर पुजी १ करोड ६९ लाख ८८ हजार रहेको छ ।