हिमाली आवाज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले आज अनुमति दिएको छ ।जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलवासेको इजलासले लामिछानेलाई हिरासतमा राख्न आठौँ पटक म्याद थप गरेको हो ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको अभियोगमा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रवन्ध निर्देशक समेत रहनुभएका लामिछाने गत कार्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएको हो ।
सहकारी ठगी मुद्धामा अनुसन्धान गरिरहेको प्रहरीले सभापति लामिछानेलाई पटक पटक म्याद थप गर्दै अनुसन्धान गरेकामा सोमबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयका प्रहरीले बुझाएको थियो ।
सभापति लामिछाने, सहकारीका सूर्यदर्शन सहकारीका संस्थापक गितेन्द्रबाबु राई (जिवी) सहित ६५ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको हो । प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपनि जिल्ला सरकारी वकिलको कार्यालयले हालसम्म अदालतमा मुद्धा दर्ता गरेको छैन ।