सार्दिखोलामा सम्पन्न भयो प्रथम वडाध्यक्ष कप खेलकुद प्रतियोगिता

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा प्रथम वडाध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
यही मंसिर १९ र २० गते सार्दिखोलाको गैरा खेल मैदानमा वडाध्यक्ष कप अन्तर्गत भलिबल, २३ वर्ष माथिको भेट्रान भलिबल, टोल स्तरीय डोरी तान्ने प्रतियोगिता लगायत खेलकुद कार्यक्रम गरिएको हो ।

भलिबल प्रतियोगितामा साविक सार्दिखोला वडा नं २ र ३ को खाँदरजुङ्ग टोल च्याम्पियन बनेको छ । खाँदुरजुङले ट्रफी सहित मेडल र रु ४० हजार पुरस्कार पायो । द्धितीय सार्दिखोला वडा नं १ भुर्जुङखोला बन्न सफल भयो । उपविजेता टोलीले रु २० हजार र ट्रफी पुरस्कार पाएको खेल सञ्चालन उपभोक्ता समितिका सचिव चन्द्रमान गुरुङले जानकारी दिनुभयो । सो प्रतियोगितामा १७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
यसैगरी भेट्रान्स भलिबलमा ग्रिन फोर्स युवा क्लबले उपाधि जितेको छ । उपविजेता च्याङलुङ बन्न सफल भयो । भेट्रान्सतर्फका विजेता र उपविजेताले रोज्जा कुखुराको भाले र पोथी पुरस्कार पाए ।

कार्यक्रममा विजेता टोलीलाई पुरस्कार वितरण गर्दै गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले खेलकुद विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले पालिकाले राष्ट्रपति रनिङ शिल्ड, अध्यक्ष कप पालिकास्तरीय भलिबल लगायतका खेलकुद प्रतियोगिता मार्फत खेलकुद विकास गरेको बताउनुभयो । “खेलकुद विकास हाम्रो प्राथमिकतामा छ । खेलकुदका विभिन्न कार्यक्रममा बजेट विनियोजन गरेका छौँ । ” उपाध्यक्ष अधिकारीले भन्नुभयो ।

माछापुच्छ्रे–२ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता गणेश आचार्यले वडामा खेलकुद प्रतियोगितामार्फत युवा खेलाडी उत्पादन र खेल वातावरण निर्माणका लागि वडाध्यक्ष कप आयोजना गरिएको बताउनुभयो ।

गाउँमा यतिबेला धान धन्काएर फुसर्दको समय भएकाले युवाहरुलाई खेलकुदमा जोड्ने र मनोरञ्जनका साथमा शारीरिक र मानसिक स्वास्थ्यको विकासका लागि प्रतियोगिता गरिउको उहाँले बताउनुभयो ।

वडाध्यक्ष आचार्यले भन्नुभयो,“सार्दिखोला खेलकुदको उर्वर भूमि हो । खेलकुद प्रतियोगिता मार्फत युवा खेलाडी उत्पादन गर्ने चाहना राखेका छौँ । हामी सबैलाई खेलकुदमा लाग्न उत्प्रेरित गर्दै आएका छौँ । ”

समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याल,वडा नं ५ का वडाध्यक्ष नारायण पौडेल,वडा नं ८ का वडाध्यक्ष राम गुरुङ,वडानं ९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो । खेल सञ्चालन समितिका संयोजक आषिश गुरुङले खेलप्रेमी युवाहरुलाई लक्षित गरी बजेट विनियोजन गरिदिएकामा वडा कार्यालयप्रति आभार व्यक्त गर्नुभयो ।

Comments
Loading...