हिमाली आवाज । नेपाली काँग्रेस कास्कीको प्रवक्तामा नवीन सिग्देल मनोनित हुनुभएको छ।
नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विहीबार पार्टीका सहसचिव समेत रहनुभएका सिग्देललाई प्रवक्तामा मनोनित गर्नुभएको हो ।
नेपाली काग्रेसको नियमावली २०७६ को परिच्छेद १८ को धारा ६३ बमोजिम सिग्देललाई प्रवक्तामा मनोनयन गरेको पत्रमा उल्लेख छ । प्रवक्तामा सिग्देललाई मनोनित गरे सँगै सभापति बरालले काँग्रेसको सार्वभौम अधिकारको रक्षाको निम्ति पार्टीको निती, सिद्वान्त र कार्यक्रमलाई सफलताको बाटोमा अग्रसर तुल्याउन विगतमा झै सदैव क्रियाशील, रचनात्मक सहयोगको आशा र विश्वास व्यक्त गर्नुभएको छ ।
सिग्देल कास्कीको १४औ जिल्ला अधिवेशनबाट सहसचिवमा निर्वाचित हुनुभएको थियो । १३ औं अधिवेशनबाट सदस्यमा निर्वाचित सिग्देलले अघिल्लो कार्यकाल पनि तीन वर्ष भन्दा बढी समय प्रवक्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।
विद्यार्थी राजनीति हुँदै पत्रकारितामा पहिचान बनाउनु भएका सिग्देल नेपाल विद्यार्थी संघ कास्कीको पूर्व सभापति र नेपाल प्रेस युनियन कास्कीको निवर्तमान अध्यक्ष हुनुहुन्छ । देश र जनतालाई शिरमा राखेर निष्ठा, त्याग, आदर्श, सिद्वान्तलाई डगमगाउन नदिने उहाँको भनाई छ । पद सानो, ठूलो जे होला तर पार्टीको हितमा काम गर्नका लागि ठूलो अवसर ठानेर काम गर्ने प्रतिवद्वता उहाँले व्यक्त गर्नुभएको छ ।