हिमाली आवाज। नेकपा माओवादी केन्द्र कास्कीले पालिका सम्मेलनहरूको तयारी गरेको छ ।
पार्टी केन्द्र र प्रदेश कार्यलयको बैठकको निर्णय अनुसार मंसिर महिनाभित्रै सबै पालिका समितिको सम्मेलन विधिवत रूपमा सम्पन्न गर्ने तयारी गरिएको पार्टी केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज रामजी प्रसाद बरालले बताउनुभयो ।
उहाँका अनुसार सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्नको लागि पालिका समितिहरूको तयारी बैठक भइरहेको छ । सुरुमा पालिकाका वडाहरुको सम्मेलन सम्पन्न गर्ने र अन्तिममा पालिकाको अधिवेशन गर्ने माओवादीको तयारी छ ।
इन्चार्ज बरालले भन्नुभयो,‘सरकारले गरिरहेको बेथितिहरूविरुद्ध खबरदारी गर्न जनपरिचालन गर्दै मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने निर्णय गरिएको छ।’
हालसम्म अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिका समितिका बैठक सम्पन्न भएको र बाँकी पालिकामा समेत बैठक बसेर सम्मेलन र पालिकाहरुमा खबरदारी सभा गरिने इन्चार्ज बरालले जानकारी दिनुभयो ।