कोरोला–त्रिवेणी मार्गको निरीक्षणमा गण्डकीका भौतिकमन्त्री

हिमाली आवाज ।गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी प्रदेश गौरवको आयोजना कोरोला–पोखरा–त्रिवेणी मार्गसहित जिल्लाका आयोजनाको निरीक्षणमा निस्किनुभएको छ ।

मन्त्री केसी नेतृत्वको टोलीले मंगलबार तनहुँको भीमाद, घिरिङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बौदीकाली गाउँपालिकामा प्रदेश सरकारले लगानी गरेका योजनाको निरीक्षण गरेको छ ।

मन्त्री केसी नेतृत्वको टोली मंगलबार कोरोला–पोखरा–त्रिवेणी मार्गअन्तर्गत भीमादबाट घिरिङ हुँदै नवलपुरको रुचाङसम्म पुग्यो । दुई छिमेकी देश चीन र भारत जोड्ने यो सडकको दुम्कीबासदेखि त्रिवेणीसम्मको करिब २३ किलोमिटर क्षेत्रमा निकुञ्ज पर्छ । त्यो ठाउँको समस्या बुझ्न मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी स्थलगत निरीक्षण गर्नुभयो । यो टोली बुधबार दुम्कीबासबाट विवादित क्षेत्र हुँदै त्रिवेणीसम्म निरीक्षणमा जाने छ ।

मन्त्री केसीले मंगलबार तनहुँको भीमाद नगरपालिका प्रमुख दधिराज सुवेदी, घिरिङ गाउँपालिका प्रमुख होमबहादुर थापा, नवलपुरको बौदिकाली गाउँपालिकाका प्रमुख प्रकाश ओझासहित स्थानीयलाई भेट गर्दै पालिका प्रमुखहरुले प्रदेश सरकारबाट बजेट विनियोजन भएर पनि काम हुन नसकेका र प्रदेश सरकारले गर्नुपर्ने कामबारे जानकारी गराउनुभयो ।

भीमाद र घिरिङका पालिका प्रमुखले दुई पालिका जोड्ने सडक ७ वर्ष पहिल्यै सकिनुपर्ने भएपनि ठेकेदार मुद्दा मामिलामा लागेपछि जनताले सास्ती व्यहोर्नुपरेको सुनाउनुभयो । घिरिङका गाउँपालिका अध्यक्ष होमबहादुर थापाले कृष्णमार्ग मोटर मार्गको समस्या मुख्य भएकाले समाधान गर्नेमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

मन्त्री केसीले पोखरा फर्किएपछि मन्त्रालयको टिम यो सडकको समस्या बुझेर समाधानमा लाग्ने प्रतिवद्धता जनाउँदै पूर्वाधार कार्यालय तनहुँका प्रमुखसँग कृष्णमार्ग मोटरबाटोको समस्याबारे सोधेर आफ्नो ठाउँबाट गर्न सकिने सबै पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
बौदिकाली गाउँपालिका प्रमुख प्रकाश ओझाले डेढगाउँ रिङरोड योजनामा प्राथमिकता साथ बजेट विनियोजन गरिदिन आग्रह गर्नुभयो ।

Comments
Loading...