हिमाली आवाज । नेपाल निर्माण व्यवसायी संघ कास्कीमा आवद्ध व्यवसायीहरु मित्रराष्ट्र चीनको वैदेशिक भ्रमणमा निस्किएका छन् । चीनका विभिन्न सहरको विकासको अवलोकनका लागि उनीहरु आज त्यसतर्फ लागेका हुन् ।
नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष लिलकाजी गुरुङको नेतृत्वमा जाने टोलीलाई आज विदाई गरिएको छ । भ्रमण टोलीमा २० जना व्यवसायी रहेकका छन् । आठ दिन र नौ रातको भ्रमणमा निस्किएको टोली आजनै पोखराबाट काठमाडौँ प्रश्थान गरेको र भोली चीन उड्ने छ ।
वैदेशिक अध्ययन अवलोकन भ्रमणमा जाने टोलीलाई संघको सभाहलमा भएको विदाईं कार्यक्रममा संघका प्रमुख सल्लाहकार शिवशंकर गौचन, सल्लाहकारहरु राजेन्द्र पहारी, मुक्तिप्रसाद तिमिल्सिना, वासुदेव गौचन र सुरेश श्रेष्ठ लगायतले खादा र माला लगाएर विदाई तथा भ्रमण सफलताको कामना गर्नुभयो । सो कार्यक्रमको सञ्चालन संघका सचिव डम्बरराज ढकालले गर्नुभएको थियो ।
वैदेशिक अध्ययन भ्रमण चीन पछिल्लो समय हासिल गरेका विकास प्रगतिका बारेमा बुझने र सिक्ने अवसरका रुपमा लिइएको संघका अध्यक्ष लिलकाजी गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो,“चीन नेपालको छिमेकी मात्र नभइ नेपालको विकासका धेरै क्षेत्रसँग जोडिएको छ र विकासमा ठूलो प्रगति हासिल गरेको छ । हाम्रो भ्रमणले चीनका विभिन्न सहरहरुमा भइरहेका विकास पूर्वाधारहरुको अवलोकन गरी केही बुझ्ने र सिक्ने मौका मिल्ने विश्वास लिएका छौँ । ”
टोलीले चीनको छेन्दु, बेइजिङ र साङ्घाईका विभिन्न सहरहरुको भ्रमण गर्ने वैदेशिक अवलोकन कार्यक्रमका संयोजक एवं संघका वरिष्ठ उपाध्यक्ष प्रेम पहारीले बताउनुभयो ।