राष्ट्रिय झण्डा ओढाएर गण्डकी प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जली

हिमाली आवाज ।गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर आज श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र उपसभामुख विनाकुमारी थापाले पोखराको नदीपुरस्थित प्रदेशसभा प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिएको गौचनको प्रार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो । विहान ७ः३० बजेदेखी श्रद्धाञ्जलीका लागि गौचनको पार्थिव शरिर प्रदेशसभामा ल्याइएको थियो ।

त्यसैगरी नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको झण्डा ओडाउनुभयो । थकाली सेवा समितिले आफ्नो परम्परा अनुसार अन्तिम श्रद्धाञ्जली व्यक्त गरेको थियो ।

स्व गौचनप्रति श्रद्धाञ्जलीका लागि गण्डकीका मन्त्रीहरु, प्रदेशसभा सदस्य, राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, थकाली समुदायका अगुवा, आफन्तजन र शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

मुस्ताङको कोबाङमा विसं २०१८ असार १८ गते जन्मिनुभएका गौचनको परिवार हाल म्याग्दीमा बसोबास गर्दै आएको छ । स्व गौचनको गत कात्तिक २८ गते राति काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो ।

उहाँ नेपाली काँग्रेसका तर्फबाट विसं २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित हुनुभएको थियो । उहाँ संसदको अर्थ तथा विकास समितिको सदस्य हुनुहुन्थ्यो ।

गौचन राजनीतिसँगसँगै विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो । गौचनको पार्थिव शरीर आजनै म्याग्दी लगेर अन्तिम संस्कार गरिने परिवारजनले जनाएको छ । स्व गौचनका एक छोरा र एक छोरी हुनुहुन्छ ।

Comments
Loading...