हिमाली आवाज । नेपालको विकास साझेदार एसियाली विकास बैँङ्कले पोखरामा तालदेखी तालसम्म ‘लेक टु लेक साइकल ट्रयाक’ निर्माणका लागि सहयोग गर्ने भएको छ ।
पोखरा महानगरपालिका क्षेत्रमा रहेका सात वटा तालहरूलाई जोड्ने सो परियोजना निर्माणका लागि महानगरले गतवर्षदेखीनै योजना अघि बढाएको हो ।
‘लेक टु लेक साइकल ट्रयाक’को गुरुयोजनाका बारेमा समेत छलफल सुरु भएको छ । पोखराको दिगो पर्यटन विकास अन्तरगत यो परियोजना सञ्चालनका लागि गुरुयोजना निर्माण गर्न लागिएको हो महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।
उहाँका अनुसार एडिबीको रु एक अर्व आर्थिक सहयोगमा निर्माण हुने सो परियोजनाले पोखरामा रहेका सबै तालहरूलाई एक आपसमा जोड्ने छ । उहाँले ८५ किमी लम्बाइको ‘लेक टु लेक जोड्ने साइकल ट्रायक’ पोखराका लागि महत्तपूर्ण पर्यटकीय पूर्वाधार बन्ने बताउनुभयो ।
प्रमुख आचार्यले भन्नुभयो,“यसले संसार भरीका साइकल प्रेमीहरूलाई पोखरामा आकर्षण गर्नेछ, पर्यटकहरूलाई हिमाल हेर्दै तालको किनारमा गरिने साइक्लिङको आनन्द प्रदान गर्नेछ भने पोखराको पर्यटन विकासमा यो महत्त्वपूर्ण कोषे ढुङ्गा साबित हुने विश्वास लिएका छौँ ।”
पोखरा महानगरपालिका वातावरणीय हिसाबले पनि स्वच्छ, सुन्दर र आकर्षक रहेकाले यहाँ बन्ने साइकल ट्रायक मानव स्वास्थ्य र पर्यावरणको संरक्षण प्रति समर्पित एक दिगो पूर्वाधार बन्ने आचार्यले बताउनुभयो ।
पोखरामा रहेका तालहरूलाई एक आपसमा (भित्र पर्ने गरी र तालहरू बाहिर पर्ने गरी) जोड्ने गरी ‘इनर’ र ‘आउटर’ दुई वटा रुटहरू सहित विभिन्न स्थानहरूमा कनेक्ट रुटहरूका समेत निर्माण गर्दा करिब ८५ कि.मी लम्बाइको साइकल ट्रायक निर्माण हुने महागनरले जनाएको छ ।