कतार एयरवेजले भोलीदेखी गौतमबुद्ध विमानस्थलमा उडान भर्दै

हिमाली आवाज । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरलाइन्सले मङ्गलबारदेखि भैरहवामा दैनिक उडान भर्न लागेको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले कतार एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान भर्न लागेको बताउनुभयो । कतार एयरवेजको भैरहवा उडान साङ्केतिक रुपमा ठूलो उपलब्धि भएको उहाँले उल्लेख गर्नुभयो ।

“भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुनु भनेको आफैमा नेपालको इन्टरनेशनल एयरपोर्टलाई अन्तर्राष्ट्रिय एरोनोटिकल समुदाय ‘इन्टरनेशनल एरोनोटिक कम्युनिटी’ले रिकनाईज गर्नु हो”, सूचना अधिकारी भूलले भन्नुभयो, “विश्वका ठूला एयरलाइन्स कतार, फलाई दुबई, थाई एयर एसिया, जजीरालगायत अन्तर्राष्ट्रिय एयरलाइन्सको भैरहवाबाट उडान हुनु रणनीतिक हिसाबले निकै महत्व हुन्छ । नेपालले बनाएको अन्तर्राष्ट्रिय एयरपोर्ट ‘गेट वे’ को रुपमा विश्व प्रसिद्ध एयरलाइन्सले सेडुअल उडानको रुपमा प्रयोग गर्नु भनेको आर्थिक हिसाबले गौतमबुद्ध विमानस्थल र आसपासको क्षेत्र पनि आर्थिक सम्भावनायुक्त हुने हुनाले यसको विशेष महत्व छ ।”

सूचना अधिकारी भुलका अनुसार गौतमबुद्ध विमानस्थलबाट भएको अन्तर्राष्ट्रिय उडानले हवाई भाडा नियन्त्रण गर्न मद्दत पुग्छ । नेपालले अधिकांश देशसँग गरेको हवाई सेवा सम्झौतामा इन्धनको मूल्य र प्रतिस्पर्धाको आधारमा हवाई भाडा निर्धारण गरिएको हुन्छ ।

स्वदेशी र विदेशी वायुसेवा कम्पनीको समन्वयमा प्रतिस्पर्धी उत्कृष्ट ‘एयरफेयर सिस्टम’ भएपछि स्वदेशी वायुसेवा कमजोर हुँदाखेरी विदेशी वायुसेवाको क्षमतामा निर्भर हुनुपर्दा विदेशी कम्पनीले हवाई भाडा बढाउँदा बजार उनीहरूको पहुँचमा जान्छ ।

Comments
Loading...