हिमाली आवाज । नेपाल सरकारको हुलाक सेवालाई पुर्नःसंरचना गरी ‘एक पालिका एक हुलाक कार्यालय’ को अवधारणा कास्कीमा कार्यान्वयन सुरु भएको छ ।
सोही अनुसार अन्नपूर्ण गाउँपालिकामा आइतबार पालिका हुलाक कार्यालय स्थापना गरिएको छ । कार्यालयको गाउँपालिका अधयक्ष विष्णुबहादुर केसीले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो ।
हुलाक निर्देशनालय पोखरा अन्तर्गत अन्नपूर्ण गाउँपालिकाको भवनमा पालिका हुलाक कार्यालयको स्थापना गरिएको हो ।सरकारले हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा सुचारु गर्ने नीति वमोजिम कार्यालय सञ्चालनमा ल्याइएको हुलाक निर्देशनालय पोखराका हुलाक निर्देशक नारायणप्रसाद आचार्यले बताउनुभयो ।उहाँले हुलाकलाई सूचनाप्रविधिसँग जोड्दै सङ्घीय शासन प्रणाली अनुसार सेवा सुरु गरिएको बताउनुभयो ।
कार्यालय स्थापनाले हुलाकको सेवालाई सहज बनाउन मद्धत पुग्ने र सरकारी नीति कार्यान्वयन हुने निर्देशनालयका शाखा अधिकृत तुलसी आचार्यले जानकारी दिनुभयो ।
कास्कीका बाँकी माछापुच्छ«े, रुपा र मादी गाउँपालिकामा समेत मङ्सिर पहिलोसाता भित्रमा पालिका हुलाकका कार्यालय सञ्चालनमा ल्याइने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
हुलाक निर्देशनालय मातहतमा जिल्लामा यसअघि १३ वटा इलाका हुलाक कार्यालय रहेका थिए । सरकारको नीति अनुसार चार वटा इलाका हुलाक कार्यालयलाई पालिकामा रुपान्तरण गरेर बाँकी खारेज हुनेछन् ।
यसैगरी जिल्लामा यसअघि ३७ वटा अतिरिक्त हुलाक कार्यालयहरु रहेकामा चालू आर्थिक वर्षमा २२ वटा छन् । पोखरा महानगरमा तीन वटा काउन्टर सञ्चालनमा रहेको छ ।
अधिकृत आचार्यका अनुसार केन्द्रको नीतिअनुसार अतिरिक्त हुलाकमा रहेका कर्मचारीको उमेर ५८ वर्ष पुगेर कार्यालयमा कर्मचारीविहीन भएपछि बाँकी रहेका अतिरिक्त हुलाक कार्यालय समेत क्रमशःखारेज हुनेछ ।
सरकारले गत आर्थिक वर्षदेखीनै ‘एक पालिका एक हुलाक’को अवधारणा कार्यान्वयनमा ल्याएको थियो ।