हिमाली आवाज । पोखरा महानगरपालिकामा पछिल्लो समय देखिएको करार कर्मचारी व्यवस्थापनको विवाद विधिसम्मत समाधान गरिने नगर प्रमुख धनराज आचार्यले बताउनु भएको छ।
नगर कार्यपालिकाको २५ औँ बैठकले गरेको निर्णय कार्यान्वयनका सम्बन्धमा ३७ औँ कार्यपालिका बैठकसम्म आइपुग्दा विवाद सृजना भएपछि त्यसको विधिसम्मत निरूपणको प्रयास गरिरहेको उहाँले बताउनुभयो।
महानगरपालिकाले लोकसेवा आयोग समक्ष कर्मचारी माग आकृति फारम भरी पठाएकोमा मागका आधारमा कर्मचारी आउने क्रम सुरु भइसकेको र महानगरपालिकाको कर्मचारी व्यवस्थापनका लागि ओ एन्ड एम गर्ने कार्य समेत अन्तिम चरणमा पुगेकाले आफूहरू कार्यपालिका कै निर्णय अनुसार करारमुक्त महानगरपालिका बनाउने अभियानमा लागेको उहाँले बताउनुभयो।
महानगरमा देखिएको समस्या समाधानका लागि विधि, प्रक्रिया र पद्धतिको अनुसरण मुख्य हुने उहाँले बताउनुभयो। कार्यपालिकाले गरेको निर्णय मानेर जानुको विकल्प नरहेको र करार सेवाका सम्बन्धमा बुझाइमा फरक पर्न नहुने तर्फ उहाँले सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराउनुभयो।
यसका लागि आफू निरन्तर छलफलमा रहेको उहाँले बताउनुभयो । कार्यपालिका बैठकले करारका कर्मचारी हटाएपछि नेकपा एमाले आन्दोलित बनेको छ । एमालेले प्रमुख आचार्यलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।