नेपालीहरुको दोस्रो ठूलो चाड तिहार (यमपञ्चक) आजदेखी सुरु

हिमाली आवाज । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो ।

बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ ।

“सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो”, उहाँले भन्नुभयो

Comments
Loading...