रुपाका धावक अर्जुनले पूरा गर्नुभयो काठमाडौँ–पोखरा दौड

हिमाली आवाज । नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदारले करिब साँढे दुई दिनमा काठमाण्डौं देखि पोखरासम्मको २ सय किलोमिटरको दुरी दौडेर पूरा गर्नु भएको छ । काठमाडौँको दशरथ रंगशाला देखि सोमबार देखि सुरु भएको उक्त दौड आज (बुधबार) दिउँसो करिब २ः०० बजे उहाँले उक्त दुरी पार गर्नु भएको हो ।

धावक गोदारलाई पोखरा रंगशालामा विभिन्न संघ संस्थाहरुले स्वागत तथा बधाई ज्ञापन गर्नु भएको छ । पोखरा रंगशालामा उहाँलाई कास्की आदर्श समाज युएई, कास्की जिल्ला एथलेटिक्स संघ, जिल्ला खेलकुद बिकास समिति, पोखरा उद्योग बाणिज्य संघ ,लेखनाथ उधोग बाणिज्य संघ, लायन्स क्लव, भूपू सैनिक हवाई सुरक्षा समिति गण्डकी, फल्याङकोट समाज कास्की लगायतका संघ संस्थाले स्वागत तथा बधाई ज्ञापन गर्नु भएको थियो । उहाँलाई बाटो बाटोमा नेपाली सेनाको टोलीले स्वागत गरेको उहाँका सहयोगी विकास खड्काले जनाउनु भयो । आफ्नो दौडको उक्त अभियानमा सहयोग गर्नुहुने प्रति उहाँले धन्यवाद समेत दिनु भएको छ।

जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख सुन बहादुर लामा, कास्की जिल्ला एथ्लेटिक्स संघका पूर्व अध्यक्ष गज बहादुर गुरुङ, पोखरा महानगर खेलकुद बिकास समितिका निवर्तमान अध्यक्ष दीपक बहादुर गोदार लगायतका प्रतिनिधिहरुले अर्जुन गोदारलाई सम्मान गर्नु भएकोे थियो । काठमाडौँको दशरथ रङ्गशालाबाट सुरु भएको उक्त दौड पोखरा रंगशालमा आएर एक राउण्ड लागर समापन गर्नु भएको हो । दैनिक ७० किलोमिटर दौड पूरा गर्ने उहाँको योजना रहेको थियो यद्यपी उहाँले पहिलो दिन काठमाण्डौं देखि मजिमटारसम्म ८६ कलिोमिटर, दोश्रो दिन मजिमटार देखि दमौली ७४ किलोमिटर र तेश्रो दिनमा दमौली देखि पोखरा रंगशाला ५० किलोमिटर दुरी पार गर्नु भएको हो । उहाँलाई मोटरसाइकल राइडर सहितको एक टोलीले आवश्यक मेडिकल सहितको सुविधा समेत उपलब्ध गराइएको थियो । आफ्नो व्यक्तिगत खर्चमा उक्त दौड पूरा गर्नु भएको हो ।

कास्की रूपा गाउँपालिका १ फल्याङकोट निवासी ४४ वर्षीय गोदार नेपालको निकै चर्चित रुटमा पर्ने काठमाडौँदेखि पोखरासम्मको क्षेत्रमा सडक दुर्घटना बढी भएर धेरैको जनधनको क्षेती भएकोले शान्तिको कामना सहित स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ उक्त दौड पूरा गर्ने अठोट गर्नु भएको बताउनु हुन्छ ।

नेपाली सेनाको हवल्दार पदबाट निवृत भएका गोदार विगत ११ बर्ष देखि युएईको सार्जा पोर्टमा काम गर्दै आउनु भएको छ भने हाल केही दिनको बिदामा नेपाल आएको सन्र्दभमा उक्त दौडमा पुरा गर्ने अभियामना जुट्नु भएको हो । उहाँले हप्तामा कम्तिमा १ सय ५० किलोमिटर दौडदै आउनु भएको थियो । केही समय अघिदेखि काठमाडौँ पोखरा रूटमा दौडेर पार गर्ने लक्ष्य लिनु भएको गोदारले मौसम र प्राविधिक कारणले गर्दा बल्ल समय उपयुक्त भएको बताउनु भएको छ । पोखरा म्याराथनमा सहभागी हुने लक्ष्य लिनु भएको गोदारले केही समय अगाडि पोखरामा आयोजना भएको क्रस कन्ट्री पर्वतीय दौड प्रतियोगितामा समेत सहभागी हुनु भएको थियो ।

यसैबिच उहाँलाई सुरु देखि बाटो बाटोमा नेपाली सेनाको टोलीले स्वागत गरेको थियो । उहाँलाई बुधबार कास्कीमा रुपा गाउँपालिकाले समेत स्वागत गरेको छ । रुपा गाउँपालिकाका उपाध्यक्ष लाल सुब्बा गुरुङ सहितको टोलीले उहाँलाई स्वागत गर्नु भएको थियो । अर्जुन गोदारको दौडले पोखरामा हुने म्याराथन दौडलाई धेरै सहयोग हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेलले बताउनु भयो ।

Comments
Loading...