बाबुरामको पार्टीको नाम पुनः फेरियो, महाधिवेशन माघ अन्तिम साता काठमाडौँमा

हिमाली आवाज । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)को राष्ट्रिय महाधिवेशन आगामी माघ २५ देखी २७ गतेसम्म राजधानी काठमाडौँमा हुने भएको छ ।

पोखरामा आज सम्पन्न सो पार्टीको प्रथम विधान अधिवेशनले सो मितिमा महाधिवेशन गर्ने पार्टी सचिवालय बैठकको निर्णय पारित गरेको नेसपा गण्डकीका अध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।

यसैगरी अधिवेशनले पार्टीको नाम परिर्वतन गरी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बनाइएको छ । महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको थापाले बताउनुभयो ।

अधिवेशनले पार्टीको केन्द्रीय समिति ९९ सदस्सीय र ११ सदस्यीय पदाधिकारी हुने व्यवस्था गरेको छ । पदाधिकारीहरुमा एक अध्यक्ष, पाँच उपाध्यक्ष (एक महिला, एक जनजाति , एक मधेसी , एक खसआर्य र एक दलित), महासचिव एक जना , तीन जना सचिव, र एक जना कोषाध्यक्ष रहनेछन् । पार्टीका सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको छ। त्यस्तै सबै समितिमा महिला पदाधिकारी ३३ प्रतिशतको व्यवस्था पनि विधानमा गरिएको नेसपाले जनाएको छ । अधिवेशनमा अधिवेशनमा ७१ जिल्ला र विदेशबाट गरी कूल पाँच सय प्रतिनिधि सहभागी रहेको बताइन्छ । नेसपाको प्रथम विधान अधिवेशन कात्तिक ५ गतेदेखी पोखरा सभागृहमा सञ्चालन भएको थियो ।

अधिवेशनमा पार्टीका सचिवालय सदस्य एवं विधान तथा घोषणापत्र मस्यौदा समितिका संयोजक डा जनक शाहले पार्टीको घोषणपत्र र सचिवालय सदस्य एवं अधिवक्ता कृष्ण शर्माले पार्टीको विधान प्रस्तुत गर्नुभएको थियो ।प्रस्तुत घोषणापत्र र विधानका बारेमा सहभागीहरुबीच समूह बनाएर समूहगत छलफल गरी पारित गरिएको हो ।

विसं २०७२ असोजमा नयाँ संविधान बनेपछि संयोजक भट्टराईले तत्कालीन एकीकृत नेकपा माओवादी परित्याग गरी नयाँ शक्ति नामक अभियान सञ्चालन गर्नुभएको थियो ।

त्यसपछि नयाँ शक्ति नेपाल पार्टी घोषणा गर्नुभएका भट्टराईको पार्टीको नाम परिवर्तन हुँदै नेपाल समाजवादी पार्टी बनेको थियो ।

Comments
Loading...