प्रहरी समायोजन नहुँदा केही काम गर्न सकिएन:मुख्यमन्त्री पाण्डे

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम समेत प्रभावित बनेको बताउनुभएको छ ।

‘संवैधानिक व्यवस्था अनुसार प्रदेश स्तरमा प्रहरी समायोजन भईसक्नुपथ्र्यो’ गण्डकी प्रदेश प्रहरी कार्यालयले बुधवार आयोजना गरेको ६९ औँ प्रहरी दिवसको कार्यक्रममा उहाँले भन्नुभयो,‘अहिले पनि २०१२ सालको ऐन देखाएर समायोजना गरिएको छैन ।’

मुख्यमन्त्री पाण्डेले संविधानको व्यवस्था र सङ्घीयताको मर्म अनुसार संघ सरकारले तत्काल प्रहरी समायोजन गर्नुपर्ने बताउनुभयो । ‘सुरक्षाकर्मीलाई साधन स्रोत सम्पन्न बनाउन, आधुनिक प्रविधिसँग दक्ष बनाउन राज्यले अहिले भईरहेको भन्दा लगानी बढाउनुपर्ने आवश्यकता छ’ पाण्डेले भन्नुभयो ।

गण्डकी प्रदेश सरकारले आफु मातहत नभएपनि प्रदेश भित्रका नागरिकको सुरक्षा, सेवा गरिरहेको सुरक्षाकर्मीलाई सहयोग गर्ने गरी कार्यक्रम र बजेट बिनियोजन गरेको मुख्यमन्त्रीले बताउनुभयो । आर्थिक वर्ष २०८१÷८२ मा कार्यन्वयन हुने गरी प्रदेश सरकारले प्रहरी चौकीहरु निर्माण, तालिम केन्द्रको संरचना, प्रहरी अस्पतालको भौतिक संरचना निर्माण सिसिटीभि जडान, घेराबार, र चौकीहरुको भौतिक पूर्वाधारका योजनामा १३ करोड ९५ लाख बजेट बिनियोजन गरेको छ ।

खोज तथा उद्धारमा प्रयोग हुने विपद् सामग्रीहरु हस्तान्तरण, तालिम, सचेतनामुलक कार्यक्रम, लागु औषध दुव्र्यसनी न्यूनिकरणका कार्यक्रम प्रदेश सरकारको सहयोगमा प्रदेशभर प्रहरीले संचालन गर्दै आएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । ‘यसलेपनि केही हदसम्म प्रहरीहरुको मनोवल उच्च राख्न र संगठनलाई चलायमान बनाउन मद्धत पुग्छ भन्ने अपेक्षा गण्डकी प्रदेश सरकारको रहेको छ’ उहाँले भन्नुभयो ।

Comments
Loading...