माछापुच्छ्रेको टुसेमा पर्यटक सूचना केन्द्र स्थापना

हिमाली आवाज । अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका–१ टुसेमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)ले गाउँपालिकासँगको साझेदारी कार्यक्रम अन्तर्गत पर्यटक सूचना केन्द्र, उद्यान र दिवा सेवा केन्द्रको स्थापना गरेको एक्याप ल्वाङका कार्यालय प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो ।

पर्यटक सूचना केन्द्रका लागि एक्याप ल्वाङ कार्यालयबाट रु १० लाख, गाउँपालिकाको रु १३ लाख ६० हजार लागत साझेदारी गरी कूल रु २३ लाख ६० हजार लागतमा निर्माण गरिएको हो ।

माछापुच्छ«े गाउँपालिकामा अवस्थित पछिल्लो समय पर्यटकको आकर्षण बढेको खुमै डाँडा तथा क्रोचोङ पदयात्रामा आउने पर्यटकलाई आवश्यक सूचना तथा जानकारी सो केन्द्रबाट प्रदान गरिने छ ।

यसका साथै मर्दी हिमाल पदमार्ग, माछापुच्छ«े नमूना पैदलमार्ग लगायतका पर्यटकीयस्थलमा पदयात्रामा जाने पर्यटकको अभिलेख राखिने छ । पर्यटक समस्यामा परेमा द्रुत उद्धारमा समेत सहयोग पुग्ने गौतमले बताउनुभयो ।

खुमै डाँडा र क्रोचोङको पदयात्रा टुसेबाट सुरु हुन्छ ।
“पर्यटकलाई पदमार्गका बारेमा आवश्यक जानकारी तथा पर्यटकको तथ्याङ्क संकलनमा सहयोग पुग्नेछ । पदयात्रामा आउने पर्यटकलाई आवश्यक जानकारी तथा सूचना प्रदान गर्नका लागि गाउँपालिकासँग मिलेर सूचना केन्द्र निर्माण गरेका हौँ ।” गौतमले भन्नुभयो ।

सूचना केन्द्रबाट खुमै तथा मर्दी ट्रेकिङरुटको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित र सहज यात्राको विषयमा आवश्यक जानकारी प्रदान गरिने गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले बताउनुभयो ।

पाँच रोपनी जमिनमा सूचना केन्द्र, दिवा सेवा केन्द्र र व्यायामशाला निर्माण गरिएको छ । दिवा सेवा केन्द्रमा ज्येष्ठ नागरिकहरुलाई टेलिभिजन हेर्ने लगायतका सूविधा व्यवस्था गरिएको छ ।

Comments
Loading...