मर्दी हिमालको बादलडाँडामा राखियो मर्दीका प्रणेता सुदीपको शालिक

हिमाली आवाज । कास्की जिल्लामा अवस्थित प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवद्र्धक सुदीप गौतमको सोही पदमार्गको बादलडाँडामा शालिक राखिएको छ । बादल डाँडामा पार्क सहित गौतमको शालिक निर्माण गरिएको हो ।

तत्कालीन समयमा फाट्टफुट्ट भकारी र चित्राले बारिएका भेडीगोठ मात्रै रहेको मर्दीमा पदयात्रा पर्यटनको विकासको लक्ष्यका साथ गौतमले गरेको निरन्तरको प्रयाससँगै अहिले मर्दी हिमाल पदयात्रा विश्वमाझ प्रख्यात छ ।

तर यस पदमार्गका प्रणेता गौतमको विसं २०७९ असोज १४ गते बादलडाँडामा भीरबाट लडेर ३५ वर्षको उमेर मृत्यु भएको थियो ।
गौतमले मर्दी पदमार्गको विकास र प्रवद्र्धनमा खेलेको भूमिकालाई सम्मान गर्दै माछापुच्छे गाउँपालिका, टान गण्डकी, मर्दी हिमाल पर्यटन होटल व्यवसाय व्यवस्थापन समिति र नेपाल पर्यटन बोर्डले पार्क र शालिक निमार्ण गरेका हुन् ।

सो शालिकको शालिकको गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल र माछापुच्छे गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले अनावरण गर्नुभयो ।
सन् २००७ मा गौतमले मर्दी हाइक्याम्पमा होटेल ट्रेकर्स प्याराडाइज सञ्चालन गर्नुपूर्व हाइक्याम्पमा मात्र नभई मर्दी पदयात्रा मार्गका फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा, डुँडखर्कलगायतका कुनै पनि स्थानमा होटेल थिएनन् ।

पदयात्रा मार्गमा डेढदशक अघिसम्म केवल भैँसीगोठ मात्रै रहेका अवस्थामा क्याम्पिङका भरमा रात कटाउनुपर्ने बाध्यता गौतमकै प्रेरणासँगै बनेका होटेल लगायतका पर्यटन पूर्वाधार बनेपछि अन्त्य भएको छ ।

प्रदेशसभा सदस्य बरालले मर्दी हिमाल पदमार्गका विकास र विश्वमा परिचित गराउन सुदीपले धेरै मेहनत गरेको बताउनुभयो ।“मर्दी पदयात्राले आज जुन चर्चा र लोकप्रियता पाएको छ । यसमा मुख्य देन सुदीपको रहेको छ । छोटो समय बाँचेर पनि उनले पर्यटनमा धेरै कुरा दिएका छन् । ” बरालले भन्नुभयो ।
माछापुच्छे गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले मर्दी पदमार्गलाई अहिलेको अवस्था सम्म ल्याउन गौतमको ठूलो भुमिका रहेको बताउनुभयो ।टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले सुदीपको सपना मर्दीलाई विश्वभर चिनाउने र धेरै भन्दा धेरै पर्यटक भित्राउने रहेको र उनी मरेर गएपनि इच्छा साकार हुदै आएको बताउनुभयो । शालिक अनावरण कार्यक्रममा स्व गौतमका परिवारजन, पर्यटन व्यवसायी तथा स्थानीय पर्यटन व्यवसायीको उपस्थिति रहेको थियो ।

पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ«े गाउँपालिकाको घलेल हुँदै कालिमाटी तथा सिदिङसम्म जीपबाट पुगेर मर्दी पदयात्रा सुरु हुन्छ । जङ्गलको बाटो हुँदै उकालो चढेर दुई हजार ९७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ ।

माछापुच्छ«कै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाट समेत पोथना,अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन् । लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यु पोइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मर्दी हिमाल आधार शिविर पुगिन्छ ।

Comments
Loading...