दसैँलाई पोखरामा भित्रिए १९ हजार भेडा÷च्याङग्रा र खसी÷बोका

कृष्ण दवाडी ÷ हिमाली आवाज । पोखरामा यस वर्ष दशैँमा १९ हजार हाराहारीमा भेडा च्याङ्ग्रा र खसी÷ बोका बिक्रीका लागि ल्याइएको छ ।
पोखरामा वर्षौँदेखि नेपालकै हिमाली क्षेत्र र चीनको तिब्बतबाट समेत च्याङग्रा तथा भेडा ल्याउने गरिएको छ । यस बाहेक दशैँमा खसी तथा बोकाको समेत राम्रो बिक्री वितरण हुने गर्दछ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका अनुसार दशैँमा १५ हजारको सङ्ख्यामा भेडा÷च्याङ्ग्रा र खसीबोका चार हजार हाराहारीमा बिक्री गर्न ल्याइएको हो । यस वर्ष गतवर्षभन्दा तीन हजार बढी भेडा÷च्याङ्ग्रा ल्याइदैछ । गत वर्ष आठ हजार पाँच सय खसी बोका ल्याइकामा यस वर्ष घटेको छ ।

“हामीले लिएको तथ्याङ्क अनुसार यस वर्ष १९ हजारको हाराहारीमा पोखरामा खसीबोका र भेडा च्याङ्ग्रा पोखरामा बिक्रीका लागि ल्याइएको छ । मुस्ताङ र म्याग्दीस्थ्ति भेटेरिनरी अस्प्तालमा कति बाहिरिए भन्ने तथ्याङ्क र बजारमा व्यापारीसँग जानकारी लिएका छौँ । ”भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले भन्नुभयो ।

पोखरामा मुख्यगरी मुस्ताङ, डोल्पा, रोल्पाबाट भेडा च्याङ्ग्राको आयात हुने गर्दछ । त्यस बाहेक सुदुरपश्चिमका बझाङ, मुगु, बाजुरा लगायतका क्षेत्रबाट समेत यहाँ बिक्रीका लागि ल्याउने गरिएको छ ।

पोखरा खसी बोका व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले यस वर्ष खसी÷ बोकाको बिक्री घटेको बताउनुभयो । माग कम भएपछि आफूहरुले आयात समेत घटाएको उहाँले बताउनुभयो ।श्रेष्ठले भन्नुभयो,“अघिल्ला वर्षहरुमा हामीले आठ÷नौ हजार जति खसी बोका ल्याउने गरेका थियौँ । तर अहिले माग छैन । पहिलाको भन्दा आधामात्र ल्याएका छौँ ।”

पोखरामा तनहुँ, गोरखा, पाल्पा,अर्घाखाँची र नवलपरासीबाट मुख्य गरी खसी बोका आयात हुने गर्दछ । केही व्यापारीले दाङ र सुर्खेतबाट समेत ल्याउने गरेका छन् ।

दशैँ तिहारका लागि भनेर पोखरामा बिक्रीका लागि ल्याइएका भेडा÷च्याङ्ग्राको अनुगमन तथा स्वास्थ्य परीक्षण समेत गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र पोखरा महानगर पशु सेवा शाखाले संयुक्त रुपमा अनुगमन तथा भेडा÷च्याङग्राको स्वास्थ्य जाँच गरेका हुन् ।

पोखरा महानगरपालिका–१ सिमपानी तथा जौवारीमा पशु चिकित्सक सहितको प्राविधिक टोलीले नमूनाका रुपमा च्याङग्राको परीक्षण गरेको हो । परीक्षण गरिएको भेडा र च्याङ्ग्रा खानका लागि स्वस्थ र योग्य पाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पाण्डेले बताउनुभयो ।

“सुरुआतमै रोग लागे नलागेको स्वास्थ्य परीक्षण गरेर मात्र बिक्रीका लागि आउने ल्याउने गरिएको छ । मुृस्ताङ र म्याग्दीमा समेत परीक्षण गरेर पोखरा ल्याइन्छ । बाटोमा सामान्य चोटपटक लागेको हुन सक्छन् । अन्य समस्या देखिएको छैन ।” पाण्डेले भन्नुभयो ।

पोखरा महानगर पशु शाखाका प्रमुख डा अषेशराज विकले पोखरामा ल्याइने गरेका भेडा÷च्याङ्ग्रा स्वस्थ रहेकाले निर्धक्क भएर उपयोग गर्न सकिने बताउनुभयो ।

अनुगमनका क्रममा स्वास्थ्य परीक्षण गर्दा एकाधमा चोटपटक लागेको देखिएको बाके अन्य संक्रामक रोग देखिएको छैन । “पोखरामा ल्याइएका भेडा च्याङ्ग्रा स्वस्थ रहेका छन् । खर्कहरुमा हुकिएकाले समेत समस्या देखिएको छैन।” पशुचिकित्सक विकले भन्नुभयो ।

नेपाल पशु स्वास्थ्य ऐनले गरेको व्यवस्था अनुसार पशु ढुवानी अघि दर्तावाल पशु चिकित्सकले जेक जाँच गरेर स्वस्थ्य रहेको प्रमाणित गरेपछि मात्र ढुवानी गर्न पाइन्छ । “जहाँबाट हिँडाइन्छ त्यहीनै स्वस्थ्य परीक्षण गरेर रोगी छ भने त्यही रोकिन्छ । ” पाण्डेले भन्नुभयो ।

दशैँका समयमा हिमाली क्षेत्रबाट ल्याइएको च्याङ्ग्राको मासु लोकप्रिय मानिन्छ । चिसो हावापानीमा हुर्किएका र जडीवुटी समेत खाएका कारण मासु स्वादिष्ट र स्वास्थ्यवर्दक समेत रहेकाले रोजाईमा पर्ने गरेको छ ।

Comments
Loading...