नेकपा(एस)पोखरा–१३ को शुभकामना आदान प्रदान कार्यक्रम

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी )का केन्द्रीय सचिव श्रीनाथ बरालले पार्टीले जनताकाबीचमा जाने कार्यक्रम बनाएको बताउनुभएको छ ।

सो पार्टीको पोखरा–१३ वडा कमिटीले विजयादशमी, दीपावली लगायतका पर्वहरुका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा उहाँले दशौँ महाधिवेशनले समाजवादी कार्यक्रम पारित गरेकाले त्यसका लागि पार्टीलाई सुदृढ बनाउन जनताकाबीचमा जाने बताउनुभयो ।

“हाम्रा सबै कार्यक्रमहरु समाजवादउन्मुख,जनताको पक्षमा र जनताकै अधिकारका लागि रहेका छन् । एकीकृत समाजवादी पार्टी अब जनताको घर घरमा जाने र सडक सदनबाट सरकारलाई जनपक्षीय काम गर्नका लागि खबरदारी गर्नेछ ।” नेता बरालले भन्नुभयो ।
संविधान र गणतन्त्रको रक्षाका लागि एकीकृत समाजवादी स्थापना भएकाले जनताको अधिकार स्थापित गर्न आत्मविश्वासका साथ पार्टीलाई जनतामा केन्द्रीत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सचिव बरालले आफ्नो पार्टी जन्मदा सानो भएपनि पार्टीका नीति कार्यक्रमले ठूलो बन्ने बताउँदै विस्तारै आकार बढाउँदै लगेको र आगामी निर्वाचन सम्म देशको निर्णायक शक्ति बन्ने बताउनुभयो ।

कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य कृष्ण नेपाली,गण्डकी प्रदेश सदस्यहरु जीतबहादुर रसाईली, विवेक भुजेल, जिल्ला कमिटी अध्यक्ष खड्ग हमाल, उपाध्यक्ष पूर्ण लामा, सचिव डीबी राई, जिल्ला कमिटी सदस्य बिनोद बराल, महानगर कमिटी अध्यक्ष मुक्ती पोखरेल, उपाध्यक्ष प्रेम थापा, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय उपाध्यक्ष श्रीराम सिग्देल, एकीकृत सरकारी कर्मचारी संगठनका केन्द्रीय सचीव बाबुराम बराल, महागार कमिटी सदस्य शालिक बराल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियोे ।

कार्यक्रम वडाकमिटी अध्यक्ष भोजराज बरालको अध्यक्षतामा भएको थियो भने स्वागत उपाध्यक्ष नवराज बरालले गर्नुभयो । कार्यक्रम सञ्चालन सह सचिव रबिमोहन बरालले गर्नुभएको थियो ।

Comments
Loading...