गण्डकी प्रदेशस्तरीय अण्डर–१९ क्रिकेट पोखरामा सुरु, कास्कीको विजयी सुरुआत

हिमाली आवाज । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशाला स्थित क्रिकेट मैदानमा आजदेखी गण्डकी प्रदेशस्तरीय वाइ वाई अण्डर –१९ एक दिवसीय पूरुष क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली कास्की विजयी भएको छ । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा पर्वतलाई आठ विकेटले पराजित गर्दै कास्कीले विजयी सुरुआत गरेको हो ।

खेलमा टस जितेर व्याटिङ रोजेको पर्वतले २८ ओभरको पाँचौ बलमा सबै विकेट गुमाएर ६८ रनमात्र बनाउन सक्यो । जितका लागि ६९ रनको लक्ष्य पछ्याएको कास्कीले १२ ओभरको पाँचौ बलमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो ।

पर्वतका लागि किरण पौडेलले सर्वाधिक २९ रन बनाउँदा ओपनर ‘व्याट्सम्यान’ सन्देश खड्का र अभिराज पटेलले समान ११ रनको योगदान दिनुभयो ।
‘प्लेयर अफ दी म्याच’ समेत घोषित कास्कीका नितेश गिरीले घातक बलिङ गर्दै नौ ओभरमा छ मेडन राख्दै १० रन खर्चिदै तीन विकेट लिनुभयो । विमोचन सापकोटाले सात बलिङा २७ रन दिएर तीन विकेट लिनुभयो ।

कास्कीका शक्ति कुंवरले ३३ बलमा नटआउट रहँदै २३ रन बताउनुभयो । सिव्रिन श्रेष्ठले सात तथा रोहित चन्दले ११ रन बताउनुभयो ।
‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’को नारा सहित आगामी असोज १३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका छ जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताको समुह ‘ए’मा कास्की, पर्वत र तनहुँ र समुह ‘बी’मा नवलपुर, स्याङजा र बाग्लुङ रहेका छन् ।

उद्घाटन खेलमा घरेलु टोली कास्की र पर्वतका बीच खेल सञ्चालन भएको छ । प्रतियोगितामा बिजेता टिमले ट्रफी तथा मेडल प्राप्त गर्ने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताबाट आगामी कात्तिक १ गतेदेखी कोशी प्रदेशमा सञ्चालन हुने यू–१९ राष्ट्रिय क्रिकेटका लागि गण्डकीको टिमका खेलाडी छनोट गरिने ।

प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदशेसभा सदस्य प्रकाश बरालले क्रिकेट खेलाडीले नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको बताउनुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान् क्रिकेट खेलाडी उत्पादनका लागि प्रतियोगिताले सघाउन पुग्ने बताउनुभयो ।

बरालले भन्नुभयो,“प्रतियोगिताले युवा खेलाडी उत्पादनसंगै व्यवसायिक खेलाडी उत्पादनमा सघाउ पुग्नेछ । राष्ट्रिय गौरव जज्वलमान बनाउन क्रिकेटको महत्वपूर्ण योगदान रहेको छ ।”

गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले पछिल्लो समय गण्डकीको क्रिकेटले फड्को मार्दै गएको बताउनुभयो । छनौट प्रतियोगिता ‘रोड टु वल्र्ड कप’को रुपमा खेलाडीहरुले ग्रहण गर्नुपर्ने बताउनुभयो ।

“नेपाली क्रिकेटको जग बलियो बनाउन उमेर समुहका प्रतियोगिताहरु महत्वपूर्ण रहेका छन् । खेलाडीहरुले आफ्नो खेल प्रदर्शनलाई उच्च बनाउन बनाउँदै प्रादेशिक तथा राष्ट्रिय टोलीमा छनोटमा पर्ने गरी मेहनत गर्नु आवश्यक छ ।”

Comments
Loading...