पोखरा उद्योग वाणिज्य सङ्घ अध्यक्षमा गोकर्ण कार्की विजयी

हिमाली आवाज । पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गोकर्ण कार्की विजयी हुनुभएको छ ।यही भदौ २८ गतेदेखी सुरु भएको सङ्घको ३५ औँ महाधिवेशन अन्तर्गत आज साँझ सम्पन्न मतगणनामा कार्की एक हजार तीन सय ३९ मत प्राप्त गरी विजयी हुनुभएको हो । कार्कीका प्रत्याशी अर्जुन पोखरेलले आठ सय ५१ मत ल्याउनुभयो ।

यसैगरी उपमहासचिवमा सुदीपमान प्रधानाङ्ग एक हजार एक सय ७७ मत ल्याएर विजयी हुनुभयो । उपमहासचिवका प्रत्याशी बालकृष्ण कोइरालाले एक हजार ४७ मत पाउनुभयो ।

सङ्घको सदस्यमा ललितबहादुर कुँवर, देवेन्द्र प्रजु, सौगात थापा , दूधमान गुरुङ (आशिष),भीम गौतम, टीकाराम सुवेदी(माधव),जीवनप्रकाश श्रेष्ठ, रामचन्द्र तिमिल्सिना, प्रदीप राजभण्डारी र यादव प्रसाद पोखरेल विजयी हुनुभएको निर्वाचन समितिका संयोजक कृष्णमोहन श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचनमा कूल मतदाता दुई हजार छ सय ७६ रहेकामा दुई हजार दुई सय ४७ मत खसेको थियो ।

यसैगरी सङ्घको वस्तुगततर्फको सदस्यमा सूर्य घिमिरे, दुर्गा बराल, पृथ्वीराज तिमिल्सिना र नवीन नापित निर्वाचिन हुनुभयो । नविन नापित र दीपेन्द्र कोईरालाको समान १४÷१४ मत प्राप्त भएपछि गरिएको गोला प्रथाबाट नापित बिजयी हुनुभएको हो ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा उत्तमान बुद्धाचार्य, उपाध्यक्ष उद्योगमा दीनेशचन्द्र बास्तोला, उपाध्यक्ष वाणिज्यमा बलराम आचार्य, महासचिव शोभा गौतम र कोषाध्यक्ष मनोज कुमार श्रेष्ठ यसअघिनै निर्विरोध निर्वाचित हुनुभएको थियो ।

Comments
Loading...