हिमाली आवाज । पोखराको लामाचौरमा आजदेखी लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु हुँदैछ ।
नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजका अवसरमा नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)ले सो प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आगामी भदौ २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फ विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ र गण्डकी प्रदेश भलिबल एसोसिएसनबीच प्रतिस्पर्धा हुनेछ ।
यसैगरी दोस्रो खेल टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र एभरेष्ट भलिबल क्लबबीच हुनेछ । यसैगरी पुरुषतर्फ एपिएफ र ट्राभल इन्क्वायरी गलकोटबीच प्रतिस्पर्धा हुनेछ । भोलीको दोस्रो खेलमा गण्डकी प्रदेश भलिबल टिम र नेपाल पुलिस आमनेसामने हुनेछन् ।
राउण्ड रोविन आधारमा हुने प्रतियोगितामा दुवै टिमतर्फ चार–चार टिमले भाग लिएको संस्थाका अध्यक्ष स्वागतसिँह भण्डारीले जानकारी दिनुभयो ।
हरितालिका तीजका अवसरमा आयोजकले लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ अन्तर्गत यसवर्ष पनि राष्ट्रिय भलिबल प्रतियोगिता निरन्तरता दिएको हो । महिलातर्फ यो ११ औं र पुरुषतर्फ तेस्रो संस्करणको लामाचौर कप हो ।
प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फ विजेताले समान रु एक लाख ५० हजार एक सय ११, उपविजेतालाई रु एक लाख एक सय ११, तेस्रोलाई रु ५० हजार एक सय ११ नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने संस्थाका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक दिनेश भण्डारीले जानकारी दिनुभयो । यसैगरी सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कारको पनि व्यवस्था रहेको बताइन्छ ।