हिमाली आवाज । पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३५ औँ महाधिवेशनको चुनावी सरगर्मी बढेको छ ।
यसै क्रममा आगामी भदौ २८ र २९ गते हुने महाधिवेशनका अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलको प्यानल आज सार्वजनिक गरिएको हो । संघको ३४ औँ महाधिवेशनमा पराजित हुनुभएका पोखरेलले यस पटक पनि पुनः उम्मेदवारी सार्वजनिक गर्नुभएको हो ।

पोखरेलको प्यानलमा बरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्दाचार्य,उपाध्यक्ष (उद्योग)मा दिनेश बाँस्तोला, उपाध्यक्ष(बाणिज्य) बलराम आचार्य, महासचिवमा शोभा गौत्तम, कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ र उप महासचिब बालकृष्ण कोइराला रहनुभएको छ । पोखरेल प्यानलले अन्य सदस्यहरु भने सार्वजनिक गरिसकेको छैन ।
अध्यक्षका उम्मेदवार पोखरेलले संघको गरिमा कमजोर हुँदै गएकाले संस्थाको प्रभावकारीता वृद्धि गर्नका लागि आफू पुनः उम्मेदवार बनेर मैदानमा उत्रिएको बताउनुभयो। “पोखरा उद्योग वाणिज्य संघको साख जोगाउन म चिन्तित छु । त्यसैले यही मनसायले फेरी नेतृत्वका लागि निर्वाचमा होमिएको छु । ” पोखरेलले भन्नुभयो । अध्यक्षका प्रत्याशी पोखरेलले अघिल्लो पटकको निर्वाचनमा खेप्नुपरेको पराजयले पाठ सिकाएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“तीनै तहका सरकारसँग समन्वय गरी काम गर्ने वातावरण मिलाउन र पोखरामा विकास गतिविघि बढाउन, अग्रजहरुको राय सुझावलाई शिरोधार्य गर्दै विगतको अनुभवलाई उपयोग गरेर पोखरामा व्यवसायीको मनोवल बढाउनका लागि मेरो उम्मेदवारी हो । ”