सार्दीखोला – पुरुनचौर सिँचाई नहर पहिराले बगायो,पुरुनचौरको रोपाई प्रभावित

हिमाली आवाज । धान रोप्ने बेलामा सिँचाई नहर पहिराले बगाएपछि पोखरा महानगरपालिका–१९ पुरुनचौरका कृषक चिन्तित बनेका छन् ।
सार्दीखोला पुरुनचौर सिँचाई आयोजनाको सिँचाई नहर पुरुनचौरको स्थानीपातल भन्ने स्थानमा यही असार ११ गते रातिको वर्षाका कारण पहिराले बगाएको थियो ।

सिँचाई नहर पहिराले बगाएर पानी पूर्ण बन्द भएपछि अहिले धान रोपाई गर्न तयारी अस्थामा बसेका कृषक निरास बनेका छन् ।
पोखरा–१९ पुरुनचौरका स्थानीय इमानराज पौडेलले नहरबाट पानी नआउँदा साविक पुरुनचौरको वडा न ६, ७, ८ र ९ गरी चार वडाका कृषकहरु अहिले धान रोपाईबाट बञ्चित बनेको बताउनुभयो । पुरुनचौरमा अहिले आधाभन्दा बढी क्षेत्रमा रोपाई बाँकी छ । सो सिँचाई आयोजनाबाट तीन सय ५० हेक्टर जमिन सिँचित हुँदै आएको थियो ।

“धानको बीउ छिप्पिन लागिसकेको छ तर सिँचाई नहर नचल्दा अहिले पुरुनचौरको धान रोपाई हुने क्षेत्रको आधा जमिन पूरै सुख्खा हुने अवस्था छ । ” पौडेलले भन्नुभयो,“पुराना कुलोहरु समेत अहिले सञ्चालनको अवस्था छैन । आकासबाट समेत पानी नपर्दा केही दिनदेखी यहाँ धान रोप्न बन्द भएको छ । ”

पहिराले ३० मिटर जति नहर पूरै बगाएको छ । त्यसैगरी विभिन्न ठाउँमा नहरको तल माथिकोनै बगाएको पौडेलले जानकारी दिनुभयो । पहिराले नहर बगाएपछि स्थानीयवासीले पोखरा महानगरपालिका तथा प्रदेश सरकारसँग ध्यानाकर्षण गराएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पहिराले क्षति पुगेको सिँचाई नहरको स्थलगत अवलोकन गर्नुभएको छ ।
सो अवसरमा उहाँले स्थानीय कृषकहरुसँग अन्तरक्रिया गरी समस्या समाधानको प्रतिवद्धता जनाउनुभएको थियो । मुख्यमन्त्रीले नहर पुनःनिर्माणका लागि प्रदेश सरकारले तुरुन्त काम अघि बढाउने विश्वास दिलाउनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो,“प्रदेश सरकारले कृषकले अहिले भोग्नु परेको समस्यालाई तुरुन्त समाधान गर्नेछ । हामीले छिटोभन्दा छिटो नहर मर्मत गरी पानी सुचारु गर्नेतर्फ लाग्ने छौँ । खेतीयोग्य जमिन बाँझो हुन दिनेछैनौँ । ”उहाँले सरकारको तर्फबाट तत्काल सहयोग हुने र स्थानीयवासी पनि सक्रिय भएर नहरको मर्मत संभारमा लाग्न आग्रह गर्नुभयो ।

−−सार्दीखोला पुरुनचौर सिँचाई विसं २०५२ मा निर्माण गरिएको हो । माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलाको पानी पाँच किमी लामो नहर मार्फत ल्याएर पुरुनचौरको जमिनमा सिँचाई गरिदै आइएको छ ।

Comments
Loading...