पोखरामा राष्ट्रिय हक्की,आर्मी च्याम्पियन

हिमाली आवाज । विभागीय टोली नेपाल आर्मी क्बले पोखरामा सञ्चालन भएको ‘पाँचौ गिरिजा प्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिप’को उपाधि जितेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ५–१ गोलले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
च्याम्पियन भएसंगै आर्मीले नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्दा उपविजेता पुलिस क्लबले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

खेलमा आर्मीका लागि प्रदिप राजंवंशीले चार गोल गरे भने दीपेन्द्र ऐरले एक गोल गरे । पुलिसका लागि रोमन रानाले एक गोल गरेका थिए । फाइनल खेलमा आर्मीका मनोज चौधरी ‘प्लेयर अफ दि म्याच’ घोषित बने ।

प्रतियोगितामा घरेलु टोली टोली गण्डकीले कर्णाली प्रदेशलाई ७–१ ले पराजित गरी तृतीय स्थान हासिल गरेको छ । गण्डकीका लागि ‘प्लेयर अफ दी म्याच’ समेत रहेका अशिम बाहेकले तीन गोल गर्दा प्रेम विकले दुई, कुशल नेपाली र पवन परियारले समान एक÷एक गोल गरे ।
कर्णालीका लागि एक मात्र सान्त्वना गोल जिवन रावतले गरे । तेस्रो स्थान प्राप्त गरेको गण्डकीले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद रु १५ हजार प्राप्त गरेको छ ।यही असार १० गतेबाट सञ्चालन भएको खेलमा नेपाल आर्मीका दीपेन्द्र ऐर ‘प्लेयर अफ दी टुर्नामेन्ट’ बनेका छन् ।

यसैगरी विद्यागततर्फ सबै उपाधि आर्मीका खेलाडीहरुले हात पारेका छन् । वेष्ट स्कोररमा प्रदिप राजवंशी, वेष्ट डिफेन्डर रोशन चौधरीले हात पारे भने ‘इमर्जिङ प्लेयर’को ट्रफी कर्णाली प्रदेशका शुसान्त रोकायले प्राप्त गरेका छन् । उनीहरुले जनही नगद रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

विजेता खेलाडी तथा टिमहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापा, संविधानसभा सदस्य शारदा पौडेल, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिब श्रीधर शर्मा, लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्र शेरचन लगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

नेपाल हक्की सङ्घको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा सम्पन्न प्रतियोगितामा दुई विभागिय टोली र विभिन्न छ प्रदेशका गरी आठ टिमको सहभागिता रहेको सङ्घका महासचिब सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।

Comments
Loading...