पोखराको पश्चिमाञ्चल:सीपयुक्त पाठ्यक्रम बनाउँदै

हिमाली आवाज । पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले स्वरोजगारमूखि पाठ्यक्रममा जोड दिनेगरि योजना बनाएको बताएको छ । स्वरोजगारमूखि शिक्षा अभावमा स्वदेशमा काम नपाएको भन्दै युवायुवती धमाधम विदेश पलायन हुन थालेपछि अतिरिक्त पाठ्यक्रम पढाएर भएपनि विद्यार्थीलाई स्वदेशमै रोक्न पहल गर्ने विद्यालयको भनाई छ ।

शनिबार पोखराका संचारकर्मीसँगको छलफलमा विद्यालयका प्राचार्य सरोज कोइरालाले पाठ्यक्रम विकास केन्द्रले तोकेको कोर्षको भरमा मात्र विद्यार्थी स्वरोजगार बन्न सक्ने अवस्था नभएपछि अतिरिक्त कोर्षमा जोड दिएको बताउनुभयो । विद्यार्थीलाई विदेशिनबाट रोक्नकै लागि भन्दै विद्यालयले पछिल्लो समय पढाई सक्नासाथ काम पाइने खालका विषयको अध्यापनमा जोड दिएको कोइरालाको भनाई छ ।

कोइरालाका अनुसार विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र मानविकी संकायमा अध्यापन गराईरहेको विद्यालयले केही वर्षअघि कानुन संकायमा अध्यापन थालेको थियो । आगामि शैक्षिकसत्रदेखि सौन्दर्यकलाको पाठ्यक्रम पनि विद्यालयले अध्यापन गराउने तयारी थालेको छ । ‘स्वदेशमा काम नपाएकै भएर विद्यार्थीहरु बाहिर गएका हुन् । उनीहरुलाई स्वदेशमै कमाउने अवसर दिलाउने हो भने विदेश जानबाट केही हदसम्म रोक्न सकिन्छ,’ कोइरालाले भन्नुभयो, ‘त्यही भएर पढाई सक्नासाथ कमाउन सक्ने सीपयुक्त कोर्ष अध्यापनमा चाँसो दिएका हौ ।’

विद्यालयका प्लस टु संयोजक देव क्षेत्रीले ५० प्रतिशत अतिरिक्त पाठ्यक्रम पढाएर विद्यार्थीलाई स्वरोजगारतर्फ आकर्षण गर्ने तयारी गरेको बताउनुभयो । ‘सैद्धान्तिक ज्ञान त विद्यालयमा पाएका छन । तर, त्यसले मात्र पुग्दैन । अब हामीले विद्यार्थीलाई बास्तविक सीप सिकाउनेगरि अतिरिक्त कोर्ष डिजाईन गर्दैछौ ।’ अतिरिक्त कोर्ष डिजाइनका लागि सम्बन्धित क्षेत्रका विषयविज्ञ र सरोकारवालासँग बसेर छलफल गर्ने पनि क्षेत्रीले बताउनुभयो ।

विद्यालयकी सह प्राचार्य मिनु श्रेष्ठ कुँवरले विद्यार्थीको विदेश पलायन रोक्न सक्ने अवस्था नभएको बताउनुभयो । ‘सबैजना विदेश जान थाले । स्वदेशमा काम नपाएको उनीहरुको गुनासो छ । अब ती विद्यार्थीलाई पढाई सक्नासाथ काम पाउने विषय अध्यापनमा जोड दिनुपर्छ,’ श्रेष्ठले भन्नुभयो । ‘त्यसमा पश्चिमाञ्चल माविले पहल थालेको छ ।’ पश्चिमाञ्चल माविमा हाल कक्षा ११ र १२ मा व्यवस्थापन, होटल व्यवस्थापन, विज्ञान, मानविकी र कानुन विषयको अध्ययन अध्यापन भईरहेको छ ।

Comments
Loading...