हिमाली आवाज । प्रोटिनमाथिको अधिकारबारे जनचेतना बढाउन नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा ‘राइट टु प्रोटिन’ हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ ।
यही चैत १० गते राजधानी काठमाडौँमा तेस्रो संस्करणको दौड प्रतियोगिता गर्न लागिएको एशोसिएसनले जनाएको छ । हाफ म्याराथनसँगै दौडमा पुरुष १० किमी र महिला पाँच किमी पनि समावेश गरिएको नेपाल भेटरिनरी एशोसिएसन गण्डकी प्रदेशका अध्यक्ष डा राजेश चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यससँगै कक्ष १२ कक्षासम्मका लागि छात्रतर्फ पाँच र छात्रातर्फ तीन किमि दौड पनि राखिएको छ । फरक क्षमता भएकाका लागि ह्विलचेयर दौड पनि हुनेछ ।
प्रतियोगिताको कुल पुरस्कार राशि १४ लाख २५ हजार रुपैयाँ रहेको छ र यसमध्ये हाफ म्याराथन विजेताले एक लाख ३३ हजार पाउनेछ । दौड दशरथ रंगशालाबाट सुरु हुनेछ र त्यहीं आएर टुंगिनेछ ।
राइट टु प्रोटिनको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना जगाउने उद्देश्यले यस वर्ष तेस्रो संस्करणका रुपमा कार्यक्रम गर्न लागिएको एशोसिएनका केन्द्रीय उपाध्यक्ष डा अशेष भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो,“प्रोटिनमा पहुँच बढाउने सन्देश प्रवाह गर्न कार्यक्रम सफल हुनेछ भन्ने विश्वास लिएका छौँ । ”