हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सो दलको आज प्रदेशसभास्थित दलको कार्यालयमा बसेको बैठकले समर्थन फिर्ताको निर्णय गरेको दलका प्रमुख सचेतक कुशुम बुढामगरले जानकारी दिनुभयो ।
दलको निर्णयपछि दलका नेता हरिबहादुर चुमानले प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेललाई वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र हस्तान्तरण गर्नुभएको थियो ।
माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता लिएपछि नेपाली काँग्रेस नेतृत्वमा रहेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सरकार अल्पमतमा परेको छ । सत्ता साझेदार दलले साथ छाडेसँगै अब मुख्यमन्त्री पाडेले एक महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।
केन्द्रमा सत्ता गठबन्धन परिर्वतनसँगै मुख्यमन्त्रीले मंगलबार माओवादीबाट सरकारमा गएका दुई मन्त्री बर्खास्त गर्नुभएको थियो ।
प्रदेश सभामा माओवादी केन्द्रका सभामुख सहित आठ सदस्य रहनुभएको छ ।
साठी सदस्यी प्रदेशसभामा सरकार गठनका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्दछ । यहाँ नेपाली काँग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एकीकृत समाजवादीका एक सदस्य रहेका छन् ।