हिमाली आवाज । पोखरामा सञ्चालन भएको चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल’को पुरुषतर्र्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौँले उपाधि जितेको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालद्धारा यही माघ १ गतेदेखी पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनलमा पुरुषतर्फ गत वर्षको विजेता गण्डकी प्रदेश भलिबल सङ्घ हेल्प नेपाल स्पोर्टस् क्लबसँग ३–१ को सेटमा पराजित हुँदै उपाधिमा ह्याट्रिक गर्ने सपनाबाट बञ्चित भयो ।
खेलमा पहिलो सेट २५–१३ ले जितेको हेल्प नेपालले दोश्रो सेट २५–१८ ले जित्दै दवाबमा राखे पनि तेश्रो सेटको खेलमा घरेलु टोली गण्डकीले पुनरागमन गर्दै २६–२४ ले खेल आफ्नो पक्षमा पारेको थियो ।
दर्शकको राम्रो साथ पाएको गण्डकीले आशातित प्रदर्शन भने गर्न सकेन । खेलमा फर्किने संकेत देखाएपनि चौथो सेट हेल्प नेपालले २५–१७ ले सहज रुपमा आफ्नो पक्षमा पार्दै घरेलु टोलीलाई निरास बनाउँदै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो ।
च्याम्पियन बनेको हेल्प नेपालले रु पाँच लाख ५५ हजार ५५५, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको घरेलु टोली गण्डकीले भने रु दुई लाख ५५ हजार ५५५, ट्रफी र मेडल पुरस्कार पायो ।
महिलातर्फ भने विभागीय टोली एपिएफले उपाधिमा ह्याट्रिक गर्न सफल भयो । महिलातर्फको फाइनल खेलमा चन्द्रागिरी न्यूडायमण्ड क्लब काठमाडौँलाई सोझो सेटमा पराजित गरी साविक विजेता समेत रहेको एपिएफ च्याम्पियन बनेको हो ।यससँगै एपिएफले उपाधिमा ह्याट्रिक गर्न सफल भयो । एपिएफ दोस्रो र तेस्रो संस्करणको च्याम्पियन टोली हो ।
उपाधिसँगै एपिएफले रु पाँच लाख ५५ हजार ५५५ पुरस्कार प्राप्त गर्यो । उपविजेता बनेको न्यू डायमण्ले रु दुई लाख ५५ हजार ५५५ मा चित्त बुझायो । एपिएफले पहिलो सेटको खेल २५–२०, दोस्रो सेट २५–१८ र अन्तिम सेट २५–२१ ले डायमण्डलाई हराएको हो ।
प्रतियोगितामा महिलातर्फ एपिएफ क्लबका निरुता ठगुन्ना र पुरुषतर्फ टिपटप हेल्प नेपालका फकर उद्धिन सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही रु २५ हजार ५५५ पुरस्कार प्राप्त गर्नुभयो ।
महिलातर्फ विद्यागत रुपमा उत्कृष्ट स्पाइकरमा एपिएफका सरस्वती चौधरी, सर्भरमा एपिएफका जस्मिता महतो, उत्कृष्ट सर्भरमा न्यू डायमण्डकी बालमिका आचार्य, उत्कृष्ट ब्लकरमा आर्मीकी सुनिता खड्का, र उत्कृष्ट न्यू डायमण्डकी सलिना श्रेष्ठ र उत्कृष्ट प्रशिक्षकमा एपिएफका महेश चौधरी घोषित हुँदै उहाँहरुले जनही नगद रु १५ हजार बराबरको गिफ्ट ह्याम्परका साथमा ट्रफी प्राप्त गर्नुभयो ।
यसैगरी पुरुषतर्फ उत्कृष्ट स्पाइकरमा टिप टप हेल्प नेपालका मजहर अली, सोही टिमका खेलाडी मोहमद काशिफ उत्कृष्ट सेटर हुँदा सोही टिमका दीपक थापा घोषित हुनुभयो ।
उत्कृष्ट सर्भरमा गण्डकीका हिमाल सुनारी, उत्कृष्ट ब्लकरमा गण्डकीका रामास्वामी आङ्गामुथु र प्रशिक्षक टिपटप हेल्प नेपालका प्रशिक्षक उत्सव खडका घोषित हुनुभयो । उहाँले जनही रु १५ हजार बराबरको गिफ्ट ह्याम्परका साथमा ट्रफी प्राप्त गर्नुभयो ।
बिजेता टोली तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टङ्कलाल घिसिङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रदेश खेलकुद परिषद्का सदस्य सचिब श्रीधर शर्मा, आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायण शर्मा लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।