हिमाली आवाज । पोखरामा जारी चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल’ प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।
पोखरा रङ्गशालामा विहान ११ बजेदेखी महिला र दिउसो १ बजे पुरुषतर्फको फाइनल खेल सञ्चालन हुने प्रतियोगिताका प्रचारप्रसार ंसंयोजक इन्द्रप्रसाद पौडेलले हिमाली आवाजलाई जानकारी दिनुभयो ।
प्रतियोगिताको उपाधिका लागि पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेश भलिबल संघ र हेल्प नेपालले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लब र चन्द्रागिरी न्यू डायमन्डले उपाधिका लागि खेल्नेछन्।पुरुष तर्फको तृतीय स्थानका लागि श्रीलङ्का आर्मी र एपिएफ क्लब खेल्ने प्रतियोगिता संयोजक दीपक कार्कीले बताउनुभयो ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यही माघ १ गतेदेखी प्रतियोगिता सञ्चालन भएको हो ।प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टोलीले नगद रु पाँच लाख ५५ हजार पाँच सय ५५ र उपविजेता टिमले समान नगद रु दुई लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।
यसैगरी तृतीय हुने टोलीले रु एक लाख २५ हजार पाँच सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फ छ÷छ टोलीले सहभागिता जनाएका थिए । विसं २०७७ देखी सञ्चालन भएको प्रतियोगितामा यसअघि पहिलो संस्करणमा महिलातर्फ नेपाल पुलिस क्लब र दोस्रो र तेस्रोमा लगातार नेपाल एपिएफ क्लबले उपाधि जितेको छ ।
यसैगरी पुरुषतर्फ पहिलोमा गण्डकी प्रदेश, दोस्रोमा त्रिभुवन आर्मी र तेस्रो संस्करण घरेलु टोली गण्डकी च्याम्पियन बनेको थियो ।