‘आहा रारा पोखरा गोल्डकप’मा दुई विदेशी सहित १२ टोलीले प्रतिस्पर्धा गर्दै

हिमाली आवाज ।  मोफसलको प्रतिष्ठित र फुटबल इतिहासमा निरन्तर सञ्चालन हुँदै आएको फुटबल प्रतिययोगितामा रुपमा स्थापित ‘आहा रारा पोखरा गोल्डकप’को २३ औं संस्करणमा दुई विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आयोजक सहारा क्लब पोखराले आगामी माघ ९ गतेदेखी २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने टोली निश्चित भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

यस वर्षको प्रतियोगितामा पहिलो पटक भारतको आइ लिग क्लब दिल्ली फुटबल र भुटानको पारो फुटबल क्लबले सहभागिता जनाउने भएका छन् । पारो क्लब भुटानको लिग च्याम्पियन क्लब हो ।

यसैगरी प्रतियोगितामा  नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, संकटा, मनाङ मस्र्याङ्दी, जावलाखेल युथ क्लब, मच्छिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, राइजिङ स्टार फुटबल क्लब नवलपुर, थ्रीस्टार र आयोजक सहारा क्लबको टोली सहभागिता जनाउने छन् ।

खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटनको सहरका रुपमा स्थापित गरौँ भन्ने उद्धेश्यका साथ प्रतियोगिता सञ्चालन गरिएको आयोजक सहारा क्लबका अध्यक्ष केशबराज बरालले बताउनुभयो। प्रतियोगिताको च्याम्पियन टोलीले रु १२ लाख र उपविजेताले रु छ लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा विदेशी टोलीको सहभागिताले अझ प्रतियोगिता रोमाञ्चक बन्ने विश्वास आयोजकको छ ।क्लबका अध्यक्ष बरालले भन्नुभयो,“विदेशका चर्चित र नेपालका स्थापित क्लबहरुको आगमनले प्रतियोगिता रोचक बन्ने विश्वास लिएका छौँ । मोफसलको पहिचान बनेकाले सभ्य र भव्य रुपमा सम्पन्न गर्ने गरी तयारी गरिरहेका छौँ ।”

पर्यटकीय सहर पोखरालाई स्पोर्टस् हव सिटीको रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा प्रतियोगिताले सहयोग पुग्ने आयोजकको भनाई छ ।अघिल्लो संस्करणमा संकटा क्लबले उपाधि जितेको थियो भने भुटनिज युथ स्पोर्टस् क्लब मिनोसोटा अमेरिका उपविजेता बनेको थियो ।

Comments
Loading...